राजविराज– प्रदेश २ मा क्यान्सर अस्पताल निर्माण हुने भएको छ। प्रदेश सरकारले अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ।
डा. लक्ष्मी नारायण सिंहको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले प्रदेश २ का ८ वटै जिल्लामा अस्पताल निर्माणका लागि अध्ययन गरिरहेको छ। शनिवार राजविराज आएको अध्ययन टोलीका संयोजक डा. सिंहले प्रदेशका ६ वटा जिल्लामा आवश्यक अध्ययन र सरोकारवालासँग छलफल समेत गरिएको बताए।
‘बाँकी २ जिल्लामा पुगेर हामी प्रतिवेदन बुझाउँछौ’ उनले भने–‘त्यसपछिको पहल सरकारले गर्छ।’
समितिले करिव १० अर्बको लगानीमा अस्पताल भवन निर्माण हुने खाका तयार गरी त्यसका लागि जग्गाको छनौट, पुर्वाधारको व्यवस्थापन, आवतजावतका लागि प्रसस्त मार्ग, जनघनत्व, स्वास्थ्यकर्मीहरुको वसोवासलगायतका विषयमा अध्ययन गरिरहेको डा. सिंहले जानकारी दिए।
स्थलगत अध्ययन÷अवलोकन, अस्पतालका लागि वर्तमान ऐन–नियमको अध्ययन तथा सरोकारवालासँग छलफल गरी अस्पताल निर्माण गर्न उपयुक्त स्थानको सिफारीस गर्ने उनको भनाई छ।
प्रदेश ३ मा रहेको भरतपुर क्यान्सर अस्पतालमा रहेका करिव १५ हजार क्यान्सरका बिरामी मध्ये ४० देखि ५० प्रतिशत बिरामी प्रदेश २ का रहेको सिंहले जानकारी दिए। बिरामीको चाप र सर्वसाधारणको सहजतालाई मध्यनजर गरी प्रदेश सरकारले आफैँ अस्पतालन निर्माण गर्ने योजना बनाएको उनले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारी भागत यादवले सप्तरीमा मात्रै करिव ५ सय क्यान्सरका रोगी भएको जानकारी दिए। चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ३० भन्दा वढि क्यान्सर पीडितले उपचारका लागि सिफारिस लिएको वताएका उनले गत वर्ष ८९ महिला र ९६ पुरुष गरी जम्मा १८५ जनाले क्यान्सरको उपचारका लागि सिफारिस लिएको तथ्यांक प्रस्तुत गरे।
अध्ययन समितिद्वारा आयोजित छलफल कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, स्थानीय तहका मेयर तथा अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी लगायतले प्रदेशको उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए।
पुर्वका प्रदेश १ र २ मा क्यान्सर अस्पताल नरहेकाले दुवै प्रदेश तथा भारतीय विरामी समेतलाई लक्षित गरी सप्तरीमै अस्पताल निर्माण गर्न उनीहरुले प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए।