काठमाडौं– सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि कुनै पनि पहल नचालेको भन्दै नेपाल चिकित्सक संघले देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीलाई रिले अनसन बस्न आह्वान गरेको छ।
संघले सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म रिले अनसन बस्न आह्वान गरेको हो। संघले सरकारलाई दिएको ७२ घण्टाको समयसिमा सकिएपछि आइतबार रिले अनसन सुरु गर्ने निर्णय गरेको हो।
संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला भएका उपत्यकाभरका चिकित्सकहरुको सुझावका आधारमा रिले अनसनमा जाने निर्णय भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघले काठमाडौं उपत्यकाको हकमा उपत्यकाभरका डाक्टर तथा स्वास्थ्यकर्मीलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनसन बस्न आह्वान गरेको छ।
उपत्यकाभन्दा बाहिरको हकमा संघको शाखा कार्यालय र शाखा कार्यालय नभएका स्थानमा आ–आफ्ना संस्थामा रिले अनसन बस्न भनेको छ।
डाक्टर तथा स्वास्थ्यकर्मी रिले अनसनमा बस्दा अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने छ।
संघले सरकारले डा केसीको जीवनरक्षाका लागि आवश्यक कदम अगाडि नबढाए थप सशक्त आन्दोलनका कार्यक्रम समेत गर्ने चेतावनी दिएको छ।
हेरौं संघद्वारा जारी विज्ञप्ति
नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले मिति २०७५ माघ १० गते नेपाल सरकारलाई उहाको माग सम्बोधन गर्दै जीवन रक्षाका गर्न ७२ घण्टाको अल्टिमेटम दिएको व्यहोरा यहाँहरुलाई विदितै छ । संघले दिएको अल्टिमेटमका सम्बन्धमा नेपाल सरकारले कुनै पनि कदम अगाडी नबढाइएकोमा आज मिति २०७५ माघ १३ गते आईतबार दिउसो १ः०० बजे काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरुलाई त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जको प्रांगढमा उपस्थित भई थप आन्दोलनको स्वरुप बारे बृहत छलफल गर्ने निर्णय अनुरुप आजको कार्यक्रमा उपस्थिति हुनु भएका सम्पूर्ण संस्थाका आवासिय चिकित्सकहरु, वरिष्ठ चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु तथा विभिन्न नागरिक समाजका व्यक्तिहरु, सर्व साधारण नागरिकहरु तथा पत्रकारहरुको गरिमामय उपस्थितिले डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ती ऐक्यबद्धता जाहेर गरिएकोमा नेपाल चिकित्सक संघ उहाँहरु प्रति हार्दिक आभार व्यक्त गर्दै संघले घोषणा गर्ने आन्दोलनका कार्यक्रमहरुमा एवम् प्रकारको सहयोग र सदभावको हार्दिक अपेक्षा गर्दछ ।
आजको भेलाले संघको का.का.सलाई दिइएको म्यान्डेट अनुरुप संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले मिति २०७५ माघ १४ गते देखि निम्न लिखित आन्दोलनका कार्यक्रमहरु देशभर संचालन गर्ने निर्णय गरिएको हुनाले नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभरका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले सोही बमोजिम कार्यान्वयन गर्नु गराउनु हुन यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।
१) काठमाडौं उपत्यकाको हकमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरु मिति २०७५ माघ १४ गते विहान १० बजे देखि बेलुका ५ः०० बजे सम्म त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जको प्रांगढमा रिलेअनसन बस्ने ।
२) उपत्यका भन्दा बाहिरको हकमा संघका शाखा कार्यालयहरु भएको स्थानमा शाखा कार्यालयमा आई रिलेअनसन बस्ने, तथा शाखा कार्यालय नभएको स्थानमा आ आफ्नो स्वास्थ्य संस्थाको प्रांगढमा जम्मा भई बिहान १० देखि बेलुका ५ः०० बजे सम्म रिलेअनसन बस्ने,
३) नेपाल चिकित्सक संघले संचालन गर्ने आन्दोलनका कार्यक्रमहरुमा सम्पूर्ण नागरिक समाज, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), बुद्धिजीवि तथा आम सर्व साधारणहरुलाई डा. के.सी.को जीवन रक्षार्थ ऐक्यबद्धताको लागि आग्रह गर्ने ।
४) नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समितिको अर्को निर्णय नहुँदा सम्मका लागि उल्लेखित घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने ।
नेपाल चिकित्सक संघ नेपाल सरकारलाई अबिलम्ब डा. के.सी.को जीवन रक्षाका लागि तत्काल आवश्यक प्रक्रिया अगाडी बढाउन तथा संघले आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने वातावरण ननिम्त्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । उल्लेखित आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य पारिएको परिस्थितिबाट आम सर्वसाधारणहरुमा पर्न सक्ने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।
डा. मुक्तिराम श्रेष्ठ
अध्यक्ष