काठमाडौं– सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि कुनै पनि पहल नचालेको भन्दै देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी आजबाट रिले अनसन सुरू गर्ने भएका छन्। नेपाल चिकित्सक संघले देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीलाई रिले अनसन बस्न आह्वान गरेको हो।
अनसन बिहान १० देखि साँझ ५ बजेसम्म हुने छ।
संघले सरकारलाई दिएको ७२ घण्टाको समयसिमा सकिएपछि आइतबार रिले अनसन सुरु गर्ने निर्णय गरेको हो।
संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला भएका उपत्यकाभरका चिकित्सकहरुको सुझावका आधारमा रिले अनसनमा जाने निर्णय भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघले काठमाडौं उपत्यकाको हकमा उपत्यकाभरका डाक्टर तथा स्वास्थ्यकर्मीलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनसन बस्न आह्वान गरेको छ।
उपत्यकाभन्दा बाहिरको हकमा संघको शाखा कार्यालय र शाखा कार्यालय नभएका स्थानमा आ–आफ्ना संस्थामा रिले अनसन बस्न भनेको छ।
डाक्टर तथा स्वास्थ्यकर्मी रिले अनसनमा बस्दा अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने छ।
संघले सरकारले डा केसीको जीवनरक्षाका लागि आवश्यक कदम अगाडि नबढाए थप सशक्त आन्दोलनका कार्यक्रम समेत गर्ने चेतावनी दिएको छ।