राजविराज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा सञ्चालन गर्न लागेको एक हप्ते बृहत् स्वास्थ्य शिविरका लागि बिरामीको नाम दर्ता खुल्ला गरिएको छ।
स्वास्थ्य सचिव पुष्पा चौधरीको उपस्थितिमा आइतबार आयोजित सरोकारवालाहरुको छलफलपछि बिरामीको नाम दर्ता खुल्ला गरिएको हो। छलफलमा सचिव चौधरीसहित, वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेत, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियार, नेपाली सेनाका सहायक रथी डा सुनिल सिंह, अरुण न्यौपानेलगायत सहभागी थिए।
फागुन १ देखि सुरु हुने शिविर ७ गतेसम्म चल्ने छ। बिरामीको चाप बढ्दै गए २/३ दिन थप गरी १० गतेसम्म सञ्चालन गर्ने सहमति भएको सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
सप्तरीलगायत प्रदेश २ को सिरहा तथा प्रदेश १ का सुनसरी र उदयपुरका जनतालाई लक्षित गरी सञ्चालन गर्न लागिएको स्वास्थ्य शिविरमा पित्त तथा मृगौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको अप्रेसन, नाक÷कानको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङ लगायतका स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।
शिविर हुने स्थानका लागि सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको मैदानमा आवश्यक तयारी सुरु गरिएको छ भने प्रचार–प्रसार तीव्र पारिएको छ। ‘यस्तो अवसर पटक–पटक आउँदैन’, मेसु दासले भने, ‘हाम्रो उद्देश्य भनेको धेरैभन्दा धेरैले सेवा प्राप्त गरुन् भन्ने हो, त्यसैले प्रचारप्रसारलाई पनि ध्यान दिएका छौं। अन्य तयारी पनि भइरहेको छ।’
शिविरमा साना–ठूला गरी २ सयभन्दा बढी अप्रेसन गरिने र अन्य बिरामीलाई स्वास्थ्य उपचार, औषधि वितरण तथा सल्लाह सुझाव प्रदान गरिने मेसु दासले जानकारी दिए।