काठमााडौं– राष्ट्रियसभाको सोमबारको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ टेबल भएको छ। टेबल भएको विधेयकका लागि संसोधन प्रस्ताव पेस गर्न सांसदहरुलाई ७२ घन्टाको समय दिइएको छ।
आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उठेर प्रक्रिया अवरुद्ध गरेका थिए। त्यसलगत्तै बोल्दै कांग्रेस सांसद बद्रि पाण्डेयले सरकारका कदमप्रति आपत्ति जनाए।
पाण्डेयले कांग्रेसका दुई पूर्व सभापतिहरुका नाममा रहेका दुई अस्पताल खारेज गर्न लागिएको विषय पुनः उठाए। माघ २ र माघ ७ मा बसेको बैठकमा कांग्रेस पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पतालबारे सदनलाई जानकारी गराएको स्मरण गराए।
उनले सरकारले हालसम्म ति दुई अस्पतालका सम्वन्धमा कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाए। पाण्डेयले भने, ‘आवश्यक भएर नै गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल सुरु भएको हो।’
उनले सो अस्पताल तत्कालीन नेकपा (एमाले)बाट प्रधानमन्त्री बनेका माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सुरुवात गरेको स्मरण गराए। तनहुँमा सञ्चालित अस्पतालका लागि भारत सरकारसँग पनि आर्थिक उपलब्ध गराउने सहमति भएको बताए। स्वासप्रश्वास अस्पतालका लागि ७ सय ५० रोपनी जग्गा उपलब्ध गराइएको छ।
बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पनि सरकारले खारेज प्रक्रियामा लगेको भन्दै पाण्डेयले बैठकमा आपत्ति जनाए।
यसअघि राष्ट्रियसभाका दुबै बैठक बस्दाकै अवस्था हालसम्म पनि कायम रहेको बताउँदै उनले अवस्थामा कुनै सुधार नभएको उनले बताए। उनले भने, ‘माघ २ र ७ गतेकै अवस्था छ। यसै अवस्थामा बैठक सञ्चालन हुन सक्दैन।’
प्रतिपक्ष दलले संसदलाई प्रभावकारी संसद बनाउन चाहे पनि सरकारी तर्फबाट बलजफ्ती हुने गरेको पाण्डेयले टिप्पणी गरे। फरक प्रसंगमा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेता उपस्थित नभइकन भएको निर्णयप्रति उनले आपत्ति जनाए।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समयमा आएको विधेयकलाई यहि सरकारले तोडमोड गरेकाले डा गोविन्द केसी १५औं स्मरण बस्नुपरेको तथ्य सुनाए। सरकार केसीको स्वास्थ्यप्रति उदासिन रहेको बताउँदै उनले भने, ‘केसीको स्वास्थ्य त बिग्रेकै छ। गैरजिम्मेवारीले यो सरकारको स्वास्थ्य पनि बिग्रेको छ।’
१५ मिनेट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक सुरु गरे। उनले पटक–पटक सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। उनले नियमित कार्य सुचारु हुन दिन आग्रहसमेत गरे। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई राष्ट्रिय चिकित्सा विधेयकलाई सभासमक्ष टेबल गर्न निर्देशन दिए। कार्यसूची २ बाट ५ देखि हटाइएको बताए।
दोश्रो पटक बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी सुरु गरेका थिए। सोपश्चात् राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले बैठक पुनः आधा घन्टाका लागि स्थागित गरेका थिए।
तेश्रो पटक बैठक सुरु भएपछि बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीलाई बोल्न समय दिइयो।
अधिकारीले चिकित्सा शिक्षा विधेयकलाई जोर जबर्जस्ती ल्याउन खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए। ‘त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको नयाँ कलेजलाई स्विकृति दिन तागत नै छैन’, उनले भने, ‘सरकारले विकल्पतिर सोचकै छैन।’ अधिकारी बोलीसकेपछि कांग्रेस सांसदहरु रोस्टमअघि नाराबाजीमा उत्रिएका थिए। नाराबाजीकै बीचमा अध्यक्ष तिमल्सिनाले चिकित्सा शिक्षा विधेयकलाई संसदमा छलफलका लागि प्रस्तुत गर्न निर्देशन दिएका थिए।
सोपश्चात् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष पेस गरेका थिए। प्रतिनिधिसभाबाट प्राप्त चिकित्सा शिक्षा विधेयकको सैद्धान्तिक पक्षको मात्रै छलफल हुने जानकारी सभाध्यक्षले दिए। छलफलमा सहभागी हुन चाहने सांसदहरुलाई आफ्नो नाम टिपाउन अध्यक्षले आग्रह गरे। तर, कुनै पनि सांसदले छलफलमा भाग लिनका लागि आफ्नो नाम टिपाएनन्।
अध्यक्ष तिमल्सिनाले चिकित्सा शिक्षा विधेयकलाई बैठकमा निर्णयार्थ पेस गरे। सो समय पनि कांग्रेस सांसदहरुको नाराबाजी जारी नै थियो। अध्यक्षले ‘हुन्न भन्नेको आवाज नसुनिएको’ जनाउँदै ‘चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसहमतबाट स्विकृत भएको घोषणा गरे।
विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न पनि अध्यक्षले आव्हान गरे। उनले विधेयकमा संशोधन गर्न चाहने सांसदहरुलाई संशोधनका लागि ७२ घन्टाको समय दिएका छन्। यसबिचमा विधेयकमाथि सांसदहरुले आफ्ना फरक धारणाहरु लिखित रुपमा राख्न पाउनेछन्।
राष्ट्रियसभाको अर्को बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ।