काठमाडौं- आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन।
चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै डा केसी १६ औं पटक आनसनमा छन्। महाराजगंजस्थित शिक्षण अस्पताल हाता भित्रै रहेको गणेशमान भवनमा अनसनमा बसेका डा केसीको जीवन रक्षाको माग गर्दै सोही स्थानमा चिकित्सकहरुले सोमबारबाट रिले अनसन सुरु गरेका हुन्।
नेपाल चिकित्सक संघको आह्वानमा सुरु गरिएको रिले अनसन सोमबार बिहान १० बजेबाट सुरु गरिएको हो। वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सरकारलाई पहल गर्न दवाव दिन रिले अनसन सुरु गरिएको आवासीय चिकित्सकहरुले बताएका छन्। उनीहरुले डा केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा छोडेर आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्। हाललाई अस्पतालको सेवालाई असर नपर्ने गरी उनीहरुले बिहान १० बजेबाट अपरान्ह ५ बजेसम्म रिले अनसन सुरु गरेका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले उपत्यकाका चिकित्सकले शिक्षण अस्पतालमा र बाहिर रहेका चिकित्सकहरुले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयहरुमा रिले अनसन सुरु गरेको जानकारी दिए। रिले अनसन सुरु गरेपनि अस्पतालको ओपीडी सेवा भने अवरोध नगर्ने चिकित्सकहरुको भनाइ छ। तर डा केसीको माग सुनुवाई सरकारले तत्काल नगरे उनको जीवन रक्षाका लागि अस्पतालको सबै सेवा ठप्प पार्न बाध्य हुने अवस्था आउने पनि संघका अध्यक्ष श्रेष्ठको चेतावनी छ। संघले डा केसीको यस अघिको आमरण अनसनमा पनि साथ दिँदै आएको छ।