काठमाडौं– कडा हृदयाघात भएर नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्था क्रिटिकल तर स्थिर रहेको छ।
हृदयाघात लगत्तै नर्भिक लगिएका उनको एन्जिओप्लास्टी गरिएको उनको उपचारमा संलग्न डा यादवदेब भट्टले जानकारी दिए। ‘उहाँको मुटुको नली बन्द भएको थियो,’ उनले भने, ‘हामीले बन्द भएका नसा खोलिसकेका छौं। तर, अवस्था अझै क्रिटिकल र स्थिर छ।’
डा भट्टका अनुसार पारसलाई ‘म्यासिभ’ हृदयाघात भएको थियो। उनको एउटा नली पूर्ण रुपमा बन्द थियो।
उनलाई आइतबारदेखि नै छाती दुख्ने समस्या देखिएको थियो।
पारसलाई हृदयाघात भएको यो तेस्रो पटक हो। यसअघि पनि उनको मुटुको नलीमा स्टेन्ट राखिएको थियो।