जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन सुरु भएको छ। पहिलो पटक जुम्लामै अक्सिजन प्लान्ट मेसिन जडान गरेर उत्पादन शुरु भएको हो।
अक्सिजन उत्पादन शुरु भएसंगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्याक्रिया गर्न सहज हुने भएको हो। पहिले अक्सिजन नेपालगञ्जदेखि भरेर ल्याउनु पर्ने बाध्यता थियो। अस्पताल निर्देशक धर्मराज गोसाईले भने, ‘पहिला नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिती आउन सक्थ्यो तर अब अक्सिजन अभावले बिरामी शैय्यामा छटपटिनु पर्दैन्।’
कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपुर्ति हुन समस्या पथ्र्यो। ‘अब त्यो समस्या झेल्नु पर्दैन। आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भईसकेको छ,’ उनले भने।
दैनिक ५० सिलिन्डरसम्म अस्पतालमा अक्सिजन सप्लाई गर्नुका साथै ८ देखि १० सिलिन्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको हो।
मेसिन जोड्न भारतको कानपुरदेखि आएका संजिव कुमारका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन नजिकैको जिल्लामा रहेका अस्पतालसम्म पठाउन सकिन्छ।
मेसिन बिग्रेको र बिजुली नियमित आपुर्ति नभएको खण्डमा बाहेक अरु बेला नियमित अक्सिजन उत्पादन गर्न सकिने उनले बताए।
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ८० वटा अक्सिजन सिलिण्डर छन्।