काठमाडौं– सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आफ्नो २३औं वार्षिकोत्सव विशेष कार्यक्रम गरी मनाएको छ।
कार्यक्रममा बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सर्नेभन्दा नसर्ने रोगको अवस्था बढिरहँदा यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्ने बताए।
उनले यसका लागि अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव दिए। उनले नेपाललाई मेडिकल हब बनाउन सकिनेमा जोड दिँदै अस्पतालका सबै सेवा प्रविधिमैत्री बनाइँदा बिरामीलाई सहज हुने बताए।
अस्पतालका पूर्व कार्यकारी निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले गंगालाल हृदय केन्द्रले विश्वस्तरीय सेवा दिँदै आएको बताउँदै भविष्यमा विकेन्द्रीकरण तथा गुणस्तरीय सेवामा अझ बढी जोड दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हालसम्म करिब १६ लाख ४५ हजार बिरामीको अस्पतालले बहिरंग सेवामार्फत स्वस्थ्य परीक्षण गरिसकेको जानकारी दिए।
उनले हालसम्म करिब ६५ हजार बिरामीको विभिन्न खालका क्याथ प्रोसिडर्स तथा करिब २२ हजार बिरामीको मुटुको शल्यक्रिया सम्पन्न भएको बताए।
२०५२ सालमा बाँसबारीमा स्थापित यस केन्द्रले ९ शय्याबाट आफ्नो सेवा सुरु गरेकोमा हाल २ सय शय्यामा क्षमता विस्तार गरिसकेको छ। अस्पतालले २०५५ पुस १५ गते बहिरंग सेवा सुरु गरेको थियो ।
प्रतिवेदन उल्लेख भएअनुसार हालसम्म १६ हजारभन्दा बढी ओपन हार्ट सर्जरी केन्द्रमा सम्पन्न भइसकेको छ। साथै यही वर्ष इसिजी ७५ हजार १ सय ७५, इकोकार्डियोग्राम ६२ हजार ८ सय ९०, टिएमटी १० हजार ९ सय ७७, साथै ७ सय २१ जनामा पेसमेकर राखिएको छ।
साथै यसै वर्षदेखि सञ्चालनमा आएको ६ सय ४० स्लाइस कार्डियाक सिटी स्क्यानबाट १ हजार ४ सय ६३ जना बिरामीले लाभ लिएका छन्। त्यसैगरी यसै वर्षदेखि क्याथ ल्याब मेसिन जडान गरिएको छ।
नयाँ क्याथ ल्याब जडान भएपछि केन्द्रले ४ वटा क्याथ ल्याबबाट सेवा प्रदान गरिरहेको छ। त्यसैगरी अस्पताललाई पेपर लेस सिस्टममा अघि बढाउनका लागि यसै वर्षबाट इन्टिग्रेटेड हस्पिटल सिस्टम सफ्टवेयर जडान गरी सञ्चालनमा आएको छ।
केन्द्रले हृदयघात भएर तुरुन्तै अस्पताल आइपुग्ने बिरामीलाई २४सै घन्टा प्राइमरी एन्जियोप्लास्टीको सेवा प्रदान गर्नुका साथै मुटुको चाल गड्बडी भएका बिरामीलाई अत्याधुनिक थ्रिडी म्यापिङ पद्धतिबाट उपचार तथा विशेष प्रकारको पेसमेकर (सिआरटी–सिआरटिडी) प्रत्यारोपण सफलताका साथ गरिँदैआएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल सरकारले १६ वर्ष मुनिका बालबालिका तथा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई यस केन्द्रमा निःशुल्क उपचार व्यवस्थाको लागि चालू आर्थिक वर्षमा प्रायोजनका लागि १३ करोड रुपैयाँ विनियोजन गरेको छ।
त्यसका साथै सरकारले विना अप्रेसन मुटुको साँघुरिएको भल्भ खोल्ने प्रविधि– पिटिएमसिको लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ। यो वर्ष ४ सय ९ जना गरिब बिरामीको मुटुको भल्भ साँघुरिएको पिटिएमसी पद्धतिद्वारा उपचार गरिएको छ।
बाथ मुटुु रोगीहरुको सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने कार्यक्रम सञ्चालनको लागि चालू अवामा नोपल सरकारले १५ कारेड ९० लाख विनियोजन गरेको छ । समग्रमा नेपाल सरकारद्वारा घोषित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ३१ करोड ६५ लाख रुपैयाँ चालू आवको लागि विनियोजन गरिएको छ।
केन्द्रले विगतका वर्षहरुमा झैं गत आर्थिक वर्षमा पनि देशका विभिन्न जिल्लाका १३ स्थानहरु काठमाडौं, म्याग्दी, सिरहा, कैलाली, डाँछी, नवलपरासी, चितवन, कास्की, इलाम, बाग्लुङ–२ सिमरा तथा दाङमा विशेषज्ञ चिकित्सकको टोलीले निःशुल्क मुटुरोग स्वास्थ्य शिविरहरु सञ्चालन गरेको थियो।
ती शिविरहरुबाट ६ हजार २ सय ८३ जना बिरामीले सेवा पाएका थिए। जसमध्ये २ हजार ६ सय ३४ जनाको इसिजी र २ हजार ६ सय ५७ जनाको इकोकार्डियोग्राम गरिएको थियो।
गत आव २०७४÷७५ मा १ लाख ६० हजार ९ सय ४२ जना बिरामीले बहिरंग सेवा मार्फत मुटुको परीक्षण गराएका थिए।
यस वर्ष १ हजार ८ सय ५६ जना बिरामीको विभिन्न खाले मुटुुको शल्यक्रिया गरिएको छ भने क्याथ ल्याब सेवामार्फत जम्मा ६ सय ९ सय १२ जना बिरामीको एन्जियोग्राफी–प्लास्टी लगायतका विभिन्न रोगको परीक्षण तथा निदान गरिएको छ। त्यसैगरी यस वर्ष ८ सय १ जना बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया गरिएको छ।