काठमाडौं- लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीवीहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार राजधानीमा बृहत् प्रदर्शन गर्ने भएका छन्।
मंगलबार राजधानीमा भएको पेसागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन्।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने र बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने जानकारी दिए।
उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धतासहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्दामा केन्द्रित रहनेछ।