जनकपुर- संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले भरपर्दो स्वास्थ्य सेवाका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा प्रमुख चुनौती रहेको बताएका छन्।
नर्सिङ दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री यादवले वर्षौंअघि डेढ करोड जनसंख्याको आधारमा देशभर खोलिएका स्वास्थ्य संस्था र त्यसमा गरिएको दरबन्दी ३ करोड जनसंख्या पुग्दा पनि उही रहेकोले गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउन नसकेको बताए।
‘देशमा डेढ करोड जनसंख्या भएकै बेलाको भौतिक संरचना र स्वास्थ्यकर्मी आज तीन करोडभन्दा बढी जनसंख्या पुग्दा पनि छन्। यसले गर्दा सहज स्वास्थ्य सुविधा पाउन सकिँदैन।हामीलाई अहिले ४० हजार स्वास्थ्यकर्मी तुरुन्त चाहिएको छ, १ सय ९ पालिकामा अझै अस्पतालकाे पहुँच छैन,’ राज्यमन्त्री यादवले भने, ‘हामीले ३५ वटा जिल्लामा रहेका अस्पताललाई ७७ वटै जिल्लामा पुयाएका छौं, अबको ५ वर्ष भित्रमा देशको ७ सय ५३ वटै स्थानीय तहमा अस्पताल पुर्याउँछौं।’
हाल देशैभरिका अस्पतालमा साढे ७ हजार बेड मात्रै रहेकोले भरपर्दो स्वास्थ्य सेवा जनताले प्राप्त गर्न नसकेको उनकाे तर्क छ। ‘हामीलाई तुरुन्तै देशभरिका अस्पतालमा ३० हजार बेड चाहिएको छ, ’ उनले भने, ‘अबको पाँच वर्षभित्रमा कोही पनि सिएमए, एचए, नर्स, अनमी, डाक्टर बेरोजगार बस्नु पर्दैन।’

त्यसैगरी कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले नर्स स्वास्थ्य सेवाको प्राण रहेको बताए। उनले भने, ‘नर्सको प्रभावकारी सेवाले देशमा बाल मृत्युदर, गर्भवती मृत्युदर घटेको छ।’ प्रदेश सरकारले नर्सिङ क्षेत्रमा सेवा दिने नर्सलाई सुरक्षा दिने ग्यारेन्टी गरेको मन्त्री साहले बताए।
प्रदेशभरिका सबै विद्यालयमा एक–एक वटा नर्स तुरुन्त व्यवस्थापन गर्न लागिएको उनले जानकारी दिए। ‘विद्यालयमा पढ्ने बच्चाहरुको स्वास्थ्य अब नर्सहरुले जाँच्ने छन्,’ उनले भने, 'यसका लागि हामीलाई तुरुन्त ४ सय नर्सको आवश्यकता छ।'
कार्यक्रममा जनकपुरका नर्सले कार्यक्षेत्र सुरक्षित बनाउन सरकारसमक्ष माग गरे। नर्सहरुले कार्यस्थल असुरक्षित भएकोले काम गर्न असहज भएको भन्दै उनीहरुले सुरक्षित कार्यक्षेत्रको माग गरेका हुन्।
नर्सहरुले हात-हातमा प्लेकार्डसहित जनकपुर नगर परिक्रमा गर्दै आफ्ना माग प्रस्तुत गरेका थिए।