काठमाडौं- पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अनसनरत डा गोविन्द केसीका सबै माग पूरा गर्दा राष्ट्रकै जित हुने बताएकी छिन्।
२२ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डा केसीलाई बुधबार भेट्न गएकी कार्कीले बाँकी माग पनि पूरा गर्नुपर्ने बताइन्। ‘उहाँले अब जति मागिरहनुभएको छ, वास्तवमा थोरै मागलाई चाहिँ किन राख्ने? मेलै बुझेकी छैन,’ उनको भनाइ छ, ‘डा केसीको पूरै माग पूरा गर्यो भने राष्ट्रले जित्छ। त्यो राष्ट्रको जित हो, जनताले जित्नु हो। प्रधानमन्त्री जीको पनि जित हो। उहाँका जति पनि सहकर्मी छन् सबैको जित हो। तपाईं हामी सबैको जित हो।’
डा केसीको अनसनका कारण नै मेडिकल क्षेत्रमा सुधारहरु देखिएको भन्दै कार्कीले सरकारले बाँकी माग पूरा गर्न इन्कार गरे तीन करोड नेपालीको भावनामा चोट लाग्ने बताइन्। ‘नत्र ठूलो प्रहार हुन्छ। ठूलो चोट हुन्छ। असह्य चोटै हुन्छ।’
डा केसीको अनसनमा ऐक्यबद्धता जनाउन गएकी कार्कीले राखेको धारणाको सम्पादित अंश :
यति समर्पित त मान्छे नै हुँदैन। उहाँसग जुन तागत छ। जनताप्रति, मुलुकप्रति राखेको जुन भावना छ, त्यो भावना सबैमा भइदिएको भए हुन्थ्यो।
सरकारले माग पूरा गर्नुपर्छ। किनभने, एकपटक प्रधानमन्त्री जीले तपाईंको माग पूरा हुन्छ भनेर सम्झौता गरेर, वचनबद्धता गरिसक्नुभएको हो। उहाँले त्यो माग पूरा हुन्छ भन्नुभएको हो।
सबैले बाहिर मुखले जे बोल्नुहुन्छ, त्यो अर्कै कुरा हो। तर, भित्री आत्माबाट डा गोविन्द केसीचाहिँ एउटा संन्यासी हो। उहाँलाई आफ्ना लागि केही चाहिएको छैन।
मलाई लाग्छ, यो कुरा सबैका मनमा होला। त्यो प्रधानमन्त्रीको मनमा पनि त्यो पूरा होस् भन्ने छ जस्तो लाग्छ।
किन भने यो माग त जनाताको माग हो। उहाँको आफ्नो व्यक्तिगत माग त होइन। अहिले मेडिकल क्षेत्रमा जति पनि सुधार भएको भन्ने हामीले सबैलाई लागेको छ नि, त्यो सबै उहाँकै लडाइँबाट आएको हो।
त्यसमा केही हातचाहिँ केदारभक्त माथेमाको छ। उहाँको नेतृत्वमा बनेको कार्यदलबाट एउटा रिपोर्ट आएको छ, त्यो सरकारी रिपोर्ट नै हो। त्यो रिपोर्ट अनुसार र डा केसीको माग अनुसार धेरै काम भएका छन्।
उहाँले अब जति मागि रहनुभएको छ, वास्तवमा थोरै मागलाई चाहिँ किन राख्ने? मेलै बुझेकी छैन। डा केसीको पूरै माग पूरा गर्यो भने राष्ट्रले जित्छ। यो प्रधानमन्त्रीजीको पनि जित हो। उहाँका जति पनि सहकर्मी छन् सबैको जित हो। यसले गर्दा देशैभित्र ‘विन–विन’को अवस्था आउँछ।
उहाँहरुले के गर्नुभयो यो कानुन बाहिरका लागि लागू हुँदैन। राजधानीका लागि मात्रै कानुन मागेकै होइन। मलाई लाग्छ उहाँको माग पूरा हुन्छ। र, यो ढिला गर्नु बेकार छ।
माग पूरा गर्दा कसैले हार्दैन पनि कसैले जित्दैन पनि। कसैले हारको महसुसै गर्नुपर्दैन।
त्यो संसद् जसले कानुन एकदम ‘आनन्–फानन्’मा पास गरे भन्छ, ती सांसदहरुले पनि यो राष्ट्रको निम्ति सोच्नुपर्छ। यति सानो राष्ट्र छ। सबै जना मिल्यो भने यहाँ कोही पक्ष पनि छैन, कोही विपक्ष पनि छैन। यहाँ कोही शत्रु पनि छैन। कसैको विपक्षी पनि छैन। यस्तो सानो राष्ट्रमा एउटा सल्लाहले, राम्रो सोचेर गर्ने हो भने हाम्रो धेरै उन्नति हुन्छ।
म आशा गर्छु सरकारले डा केसीको माग पूरा गर्छ। अवश्य पूरा गर्छ। उहाँको माग पूरा गर्दा कुनै निश्चित पार्टीको जित हुने, कुनै निश्चित व्यक्तिको जित हुने मैले कहीँ देखेकै छैन।
किनभने गोविन्दजीको कुनै व्यक्तिगत माग नै होइन। यो माग तपाईं हामी सबको हो। यो भविष्यको सन्तितका लागि, नेपाली जनताका लागि हो।
म सरकारसँग अनुरोध गर्छु यो माग पूरा गर्दिऊँ। उहाँहरुको जितै भएको जनताले महासुस गर्नेछन्।
मलाई लाग्दैन कि सरकारमा आएका मान्छेहरु त्यतिकै आएका हुन्। उनीहरुसँग विवेक छ। मलाई लाग्दैन कि यसरी एउटा व्यक्तिलाई यसरी मारिन्छ। किनभने हामीकहाँ नन्दप्रसाद अधिकारीको शव अस्पतालमै छ। यसलाई अन्तर्राष्ट्रिय क्षेत्रले हेरिरहेको छ।
यस्तो अवस्थामा मलाई लाग्दैन कि सरकारले इन्कार गर्छ। तर, यदि इन्कार गर्ने हो भने तीन करोड नेपालीको भावनामा चोट लाग्छ। ठूलो प्रहार हुन्छ।
अब समय नै बाँकी छैन। सरकारले उहाँको माग सम्बोधन गरिहाल्नुपर्यो।