काठमाडौं–नेपाली औषधि उत्पादन कम्पनी देउराली जनता फार्मास्यूटिकल्स प्रालि २८औँ वर्षमा प्रवेश गरेको छ।
कम्पनीले आयोजना गरेको औपचारिक कार्यक्रममा बोल्दै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देउराली जनता फार्मास्यूटिकल्स प्रालि मेहनत, परिश्रमले नै अहिलेको स्थितिमा आएको भन्दै प्रशंसा गरे।उनले औषधि उत्पादनसँगै स्वास्थ्य जनचेतनाको क्षेत्रमा पनि काम गर्नपर्नेमा जोड दिँदै जनतालाई जानकार बनाउन नगरपालिका, वडाहरुसँग मिलेर कामहरु गर्न सुझाव दिए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक नारायण ढकालले नेपालमै उत्पादन हुने औषधिको गुणस्तरीयता अनुगमन गर्न र नयाँ अध्ययन अनुसन्धान गर्न चिकित्साशास्त्र अध्ययन संस्थासँग मिलेर अत्याधुनिक प्रयोगशाला बनाउने निर्माण गर्ने योजना रहेको बताए।
देउराली जनता फार्मास्यूटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्माले सरकारले नेपाली कम्पनीलाई लगानी गर्ने वातावरण बनाउन भुमिका निर्वाह नगर्नु दुखद् भएको बताए।उनले भने,‘अहिले अर्थतन्त्र लगानी गर्न अनुकूल वातावरण छैन, नीतिनियम सबै पुरानै छन्, जुन अहिलेको अवस्थामा प्रतिकूल भएकाले परिमार्जन नगरिकन हुँदैन, जति सक्दो छिटो पुराना कानुन परिर्माजन हुनुपर्छ ।’
कम्पनीले अत्यावश्यक औषधिलगायत मुटुरोग, नसा, चर्म, मधुमेह, सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधि उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार हाल ३२० प्रकार औषधि उत्पादन गरी विक्री वितरण भइरहेको छ।
कम्पनीले उत्पादन गर्ने औषधिको गुणस्तरीयताका लागि अन्तराष्ट्रियस्तरको प्रविधि तथा डब्लुएचओको जिएमपी प्रमाणीकरण गरेको छ।
कम्पनीको हालको उत्पादन क्षमता झोल औषधिहरु १५ लाख लिटर, ट्याब्लेट १२ करोड गोटा, क्याप्सुल ८ करोड ५० लाख गोटा, ड्राई पाउडर/ओ.आर. एस ३० हजार केजी र मल्हम १ करोड ट्युब रहेको छ।