काठमाडौं– राष्ट्रियसभाको बिहीबारको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि दफावार छलफल हुने भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
यस सत्रमा विधेयकमा परेका संशोधनमाथि सांसदहरुले आफ्नो विचार राख्नेछन्। यसअघि सोमबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथि संशोधन राख्न ७२ घण्टाको समय दिएका थिए।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले विधेयकमाथि संशोधन राख्न समय दिएका थिए। तर, संशोधन राख्दा संसदको प्रक्रियामा सामेल भइने भन्दै कांग्रेसले विधेयकमाथि संशोधन हालेको छैन।
कांग्रेसले संसदको प्रक्रिया, दुई पूर्व सभापतिहरुका नाममा रहेका दुई अस्पताल खारेज गर्न लागिएको तथा अनसनरत डा गोविन्द केसीसँग सरकारले यसअघि गरेको सहमति पुरा गर्न माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ। संसदको तल्लो सदन प्रतिनिधिसभाबाट भने कांग्रेसको विरोधको बावजुद विधेयक पारित भइसकेको छ।
यसबीचमा सरकारले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै स्वामित्वमा रहने निर्णय गरिसकेको छ।
स्वासप्रश्वास अस्पताल अस्पताल तत्कालीन नेकपा (एमाले)बाट प्रधानमन्त्री बनेका माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सुरुवात भएको थियो। तनहुँमा सञ्चालित अस्पतालका लागि भारत सरकारसँग पनि आर्थिक उपलब्ध गराउने सहमति भएको थियो। स्वासप्रश्वास अस्पतालका लागि ७ सय ५० रोपनी जग्गा उपलब्ध गराइएको छ।
उता बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पनि सरकारले केन्द्र सरकारकै मातहतमा रहने निर्णय गरको छ।
आजको बैठकबाट विधेयक पारित भएमा प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाइने छ। सोपश्चात् विधेयकले ऐनको रुप लिने छ र कानुनको रुपमा लागू हुने छ।
सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारीमा रहँदा डा गोविन्द केसी भने २३ दिनदेखि अनसनमा छन्। पुस २५ देखि इलामबाट अनसन बस्न सुरु गरेका डा केसीले १५औं अनसनमा सरकारले गरेका सहमतिअनुसार नै विधेयक ल्याउनुपर्ने माग राखेका छन्।
यद्यपि डा केसीका ९५ प्रतिशत माग समेटिएको भन्दै सरकारले पेलेरै अगाडि बढेको हो। विधेयक पारितको प्रक्रिया अगाडि बढेपनि डा केसीले भने अनसन जारी राखेका छन्।