अमरगढी- डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो । चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर एकजना पनि विशेषज्ञ चिकित्सक छैनन् ।
अस्पतालमा भएका चिकित्सक पनि बढी समय बिदा तथा काज सरुवामा जाने भएकाले उपचारमा झनै समस्या हुने गरको सेवाग्राहीको गुनासो छ । विशेषज्ञ चिकित्सक नहुँदा डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अन्य सात जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल, नेपालगञ्ज तथा भारतका विभिन्न अस्पतालमा उपचारका लागि जान बाध्य छन् ।
हाल अस्पतालमा स्त्रीरोग हेर्ने गरी मेडिकल अफिसरको दरबन्दीमा एकजना चिकित्सकले काम गरिरहेका छन् । मेडिकल अफिसरकै दरबन्दीमा आफँै काम गरिरहेको विशेषज्ञ चिकित्सकका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि डाक्टर नपठाइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा जीतेन्द्र कँडेलले बताए ।उनले विशेषज्ञ नहुँदा क्षेत्रीय अस्पतालमा उपचार गर्नै समस्या हुने गरेको बताए । अस्पतालमा मेडिकल अफिसर पदमा १८ को दरबन्दी छ । हाल ११ कार्यरत छन । छ अध्ययन बिदामा रहेको मेडिकल सुपेरिटेन्डेन डा कँडेलले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको मध्य भागमा र वातावरणका हिसाबले पनि अनुकूल रहेको उपक्षेत्रीय अस्पताललाई सुविधासम्पन्न बनाउन सकिए यहाँका सात पहाडी जिल्लाको स्वास्थ सेवा टेवा पुग्ने स्थानीय बासिन्दा बताउँछन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँ जनताले उपचारका लागि लामो दूरी र बढी खर्च व्यहोर्नु परिरहेको डडेल्धुरा नागरिक समाजका संयोजक रमेश जोशीले बताए । यतिबेला चिसोयाम भएकाले अधिकांश बालबालिकामा निमोनियाको समस्या देखिने गरेको छ । रासस