धनगढी– कैलालीको गौरीगंगा नगरपालिका– २ स्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो सेवा विस्तार गरेको छ। उक्त केन्द्रले अब २४सै घन्टा आकस्मिक सेवा दिने जनाएको छ।
२०४९ मा स्वास्थ्य चौकीका रुपमा स्थापना भएको सो केन्द्रलाई २०५४ सालमा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा अघि बढाइएको थियो।
झन्डै २१ वर्षसम्म ओपिडी र प्रसूति सेवा दिंदै आएको सो केन्द्रले अहिले आधारभूत सेवालाई विस्तार गर्दै लगेको केन्द्रका मेडिकल अधिकृत डाक्टर आस्विनी चौहानले बताए। ‘चौमालाका स्थानीयको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गर्दै अघि बढेका छौं’ उनले भने।
केन्द्रले अहिले युएसजी–भिडियो एक्सरे, इसिजी, साधारण एक्सरे, फार्मेसी, आकस्मिक लगायतका सेवा सुरु गरिसकेको छ। डाक्टर चौहानले भने, ‘आगामी दिनमा पोस्टमार्टम सेवा, दन्त सेवा र सर्पदंस सेवा विस्तार गर्ने लक्ष्य लिएका छौं।’
हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने सरकारको अवधारणा अनुसार सो केन्द्रलाई १५ बेडको अस्पतालका रुपमा विस्तार गर्ने सोच बनाइएको उनले बताए। ‘हामीले सेवा त विस्तार गरेका छौं तर, दिगो बनाउन चुनौती भने छ।’ उनका अनुसार स्थानीय तहले प्राथमिक स्वास्थ्य केन्द्रको सुधारमा खासै ध्यान दिएको छैन।
गौरीगंगा नगरपालिकाले अहिले चौमाला प्राथमिक स्वास्थ्य केन्द्रका लागि चार लाख बजेट विनियोजन गरेको जनाएको छ। डाक्टर चौहानले भने, ‘नगरपालिकाले बजेट विनियोजन गरेको भनेको छ तर, कहिले उपलब्ध गराउने हो थाहा छैन।’ उनले केन्द्रमा फार्मेसी र आकस्मिक सेवा आन्तरिक स्रोतबाटै सुरुवात गरिएको बताए।
प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०७४–७५ मा गौरीगंगा नगरपालिकाले एम्बुलेन्स खरिदका लागि ११ लाख विनियोजन गरेको बताए। आकस्मिक सेवा सञ्चालनका लागि केन्द्रले झन्डै पा“च लाख र फार्मेसीका लागि तीन लाख रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गरेको जनाएको छ।
केन्द्रले बिरामी पर्चा, स्वास्थ्य बिमा कार्यक्रम, एक्सरे सेवा, प्रयोगशाला, ओजिटी लगायतबाट वार्षिक झन्डै सात लाख आम्दानी गर्दै आएको छ। केन्द्रलाई गत आर्थिक वर्षमा संघीय स्वास्थ्य मन्त्रालयले सेवा सुदुढीकरण शिर्षकमा तीन लाख उपलब्ध गराए पनि यस आर्थिक वर्षमा भने विनियोजन नगरेको जनाइएको छ।
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा छाला, पेट, हड्डी, छाती तथा मुटु लगायतका समस्या लिएर बिरामी आउने गरेका छन्। दुर्घटना, हाड भाँचिएका र अन्य जटिल बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था केन्द्रले जनाएको छ।
२४ घन्टे आकस्मिक सेवा सुरु
केन्द्रमा बुधबारदेखि पाँच बेड राखेर २४ सै घन्टा आकस्मिक सेवा सुरु भएको छ।
आकस्मिक सेवाको सुदूरपश्चिम प्रदेश पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे। कार्यक्रममा पूर्वमन्त्री सोडारीले आकस्मिक सेवालाई प्रभावकारी र दिगो बनाउनुपर्ने बताए।
‘स्वास्थ्य संस्थामा कर्मचारीले समय नदिने, बिरामी आएको बेला चिकित्सक नभेटिने लगायतका गुनासा आइरहेका छन्,’ उनले भने, ‘पूर्वमन्त्री सोडारीले भने, ‘आकस्मिक सेवा सुरु भएसँगै चिकित्सक तथा स्वास्थ्यका कर्मचारीमाथि जिम्मेवारी बढेको छ।’
केन्द्रका मेडिकल अधिकृत चौहानले भने, ‘आकस्मिक सेवामा एक डाक्टर, एक अहेव र एक कार्यालय सहयोगी राखिएको छ।’ आकस्मिक सेवामा एक बिरामीबाट एक सय रुपैयाँ शुल्क लिने निर्णय भएको उनले बताए।