काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा गोविन्द केसीको अनसनकाे औचित्य सकिएकाे बताएका छन्।
प्रतिपक्षले सत्ता गुमाउनुपरेकाे पीडामा डा केसीलाई उचालेकाे समेत उनले आराेप लगाए। 'अनसनको औचित्य समाप्त भयो,' मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'जसले बाेक्याे उसैले अवतरण गराेस्।'
केसीकाे मागअनुसार नै संसदीय प्रक्रियाबाट विधेयक पारित भएको जिकिर गर्दै प्रवक्ता बास्कोटाले भने, 'अनसनकारी भनेर जसलाई बहुप्रचारित गरिएकाे छ। उनकाे मुख्य माग सदनले सम्बोधन गरिसकेको छ।
प्रवक्ता बाँस्कोटाले सरकारले अनसनको बेवास्ता नगरेको दाबी गर्दै भने, ‘सरकारले बेवास्ता गरेको भए विधेयक कसरी पेस हुन्थ्यो? संसदीय समितिमा उहाँलाई छलफलका लागि बोलावट हुँदा उहाँको अस्विकार्यता किन रह्यो?’
मागहरु एक स्टेप अघि बढेर सम्बोधन गरेको बाँस्कोटाको दाबी थियो।
विधेयक दुई सदनबाट पारित भएको जानकारी गराउँदै बाँस्कोटाले पश्चिम ताकेर पूर्व हिर्काउने तरिका स्विकार्य नहुने बताए। विधेयकको मर्म अनुसार सहयोग गर्न उनले कांग्रेस लगायत अरु पक्षलाई आग्रह गरे।
अनसन त्याग्न आग्रह गर्दै प्रवक्ता बास्कोटाले केसीलाई ‘उक्साउन हिँड्नेको पछि नलाग्न र जनताको पक्षमा मलमपट्टी, सिटामोल बोकेर चिकित्सा क्षेत्रमा फर्कन’ सुझाव दिए।