काठमाडौं – कलेजो प्रत्यारोपण सेवा सञ्चालनका लागि लामो समयको तयारी र गृहकार्यमा जुटेको त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले प्रत्यारोपणका लागि लाइसेन्स पाएको छ।
लाइसेन्स पाएसँगै अस्पतालले प्रत्यारोपणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। अस्पतालका कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा रमेशसिंह भण्डारीका अनुसार सबै तयारी पूरा भएकाले एक महिनाभित्र पहिलो प्रत्यारोपण गर्ने कार्ययोना बनाइएको छ।
अस्पतालले सुरुका केही प्रत्यारोपण भारतको एपोलो अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा निरभ गोयलको सहयोग लिनेछ। यसका लागि डा गोयलको टिम एक सातापछि नेपाल आउने भएका छन्।
‘उहाँहरुको टोली एक सतापछि नेपाल आउँदै हुनुहुन्छ,’ डा भण्डारीले भने, ‘हामी सबै तयारी अवस्थामा छौं। सुरुका प्रत्यारोपणमा हामी उहाँहरुकै सहयोग लिने छौं।’ उनले प्रत्यारोपणका लागि बिरामीको छनोटको काम पनि अगाडि बढाइएको जानकारी दिए।
प्रत्यारोपणका लागि डा भण्डारीको नेतृत्वमा चुस्त मेडिकल टिम तयारी अवस्थामा छन्। उनीहरुले एपोलोमा गएर तालिम समेत लिएर आइसकेका छन्। गत असोजमा अस्पतालका १४ जनाको टिम तालिमका लागि एपोलो अस्पताल पुगेका थिए। ८ जना डाक्टर र ६ जना नर्सले तालिम लिएका हुन्।