काठमाडौँ- नेपाल चिकित्सक संघले गरेको शुक्रबारबाट देशभरका सरकारी ,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णयको नेकपा निकट चिकित्सकहरूले अवज्ञा गर्ने भएका छन्। डा गोविन्द केसीका नाममा राजनीतिक उद्देश्य पूरा गर्न आन्दोलन गरिएको भन्दै अवज्ञा गर्ने बताइएको हो।
विरोधका अन्य उपाय हुँदा हुँदै पनि अस्पताल बन्द गरिएको भन्दै नेकपा निकट राष्ट्रिय चिकित्सक संघ (एनडीएन) र प्रगतिशील चिकित्सक संघ नेपालले एनएमको निर्णय प्रति विमति राखेका हुन् । । उनीहरु सामूहिक विज्ञप्ति जारी गर्दै अस्पतालको सेवा शुक्रवार पनि अन्य दिन जस्तै सुचारु गर्ने उल्लेख गरेका छन्। एनडीएनका अध्यक्ष डा सन्तोष पौडेल र प्रगतिशील चिकित्सक संघका कार्यवाहक अध्यक्ष डा माधव लम्साल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'एक जना अभियन्ताको जीवन रक्षार्थ भनेर नेपाल चिकित्सक संघले आवहान गरेको एजेण्डा विहिन आन्दोलन राजनीतिक उद्देश्य प्रेरित छ।'
दुवै सदनबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको स्वागत गरिएको छ । डा गोविन्द केसीलगायतका अभियान्ताको अनवरत प्रयास स्वरुप राम्रो विधेयक आएको भन्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका साथै यसलाई जनमुखी बनाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिएको छ।
