विराटनगर- पूर्वाञ्चल टिपर व्यवसायी संघको आन्दोलनमा एम्बुलेन्सलाई समेत प्रतिबन्ध लगाइएको छ। अन्य सवारीका साथै एम्बुलेन्स समेत ठप्प हुनेगरी विराटनगर-धरान सडकखण्डमा आन्दोलन चर्काइएकाे हाे।
गत माघ १४ गते सोमबार मोरङको सुन्दरहरैचामा जलाइएका टिपरको क्षतिपूर्तिसहित टिपरमाथि लगाएको प्रतिबन्ध हटाइनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलित बनेका हुन्। टिपरको ठक्करबाट ११ वर्षिया लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले एक दर्जन टिपरमाथि आगजनी गरेका थिए।
त्यसैको विरोधमा व्यवसायीले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्। एम्बुलेन्ससमेत रोकेर ट्रिपर र्यालीको नाममा सडक यातायातलाइ प्रभाब पारिएकाे खण्डमा त्यस्ता टिपरलाई क्रेन लगाएरै सडकबाट हटाइने मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए।
बिहान-बेलुका सडकमा टिपरको आवागमन रोक्ने कार्य बन्द हुनुपर्नेलगायतका माग राख्दै व्यवसायी आन्दोलनमा उत्रेका हुन्। टिपर र्यालीलाई प्रहरीले विराटनगर प्रवेशमा रोक लगाएपछि यातायात आवागमन अवरुद्द गरिएकाे हो।
ठूलो सङ्ख्यामा टिपरहरू विराटनगरतर्फ प्रवेश गर्न लागेपछि हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै प्रहरीले विराटनगरतर्फ प्रवेश निषेध गरेको छ।