काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीलाई भेट्न गएका केदारभक्त माथेमालाई डा केसीले असन्तुष्टि पोखेका छन्।
केसीको स्वास्थ्य अवस्था बुझ्न र अनसन तोड्नका लागि आग्रह गर्न गएका माथेमालाई डा केसीले 'के मलाई बेवकुफ सम्झनुहुन्छ?' भन्दै आक्रोश पोखे।
माथेमाले डा केसीलाई आफ्नो स्वास्थबारे पुनर्विचार गर्नुस् भनेर सम्झाएका थिए। प्रतिउत्तरमा डा केसीले भने, 'खड्ग ओली र उनले ल्याएको विधेयक मेरो सास रहुन्जेल मान्दिनँ।'
अहिले माथेमा, पूर्वप्रधानन्यायाधी सुशीला कार्की लगातको टिम अर्को कोठामा बैठक बसिरहेको छ।
यसअघि आजै पूर्वराष्ट्रपति डा रामवरण यादवले डा गोविन्द केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेका छन्। 'सत्याग्रह जारी राख्नुस्,' यादवले भनेका थिए, 'तर अनसन चाहिँ ताेड्नुस्।'
चिकित्सा सुधार लगायतका माग राखी डा केसी १६औं अनसनमा छन्। आफूसँग गरिएको सहमतिविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेकोमा उनी अनसन नतोड्ने अडानमा छन्। उनको अनसनको आज २४औं दिन हो।