काठमाडौं– डा गोविन्द केसीलाई अनसन स्थगित गर्न नागरिक समाजका अगुवा केदारभक्त माथेमा सहित चार लब्ध प्रतिष्ठित डाक्टरहरुले आग्रह गरेका छन्। प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की र प्रा डा भगवान कोइरालाले संयुक्त विज्ञप्त जारी गर्नुका साथै डा केसीलाई भेटेर यस्तो आग्रह गरेका हुन्।
चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार उनीहरुले अनुरोध गरेका छन्। उनीहरुले डा केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भुमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनीहरुको आग्रह पछि डा केसी आफ्ना समर्थकसँग सल्ला लिइरहेका छन्।
प्रेस विज्ञप्ति
डा गोविन्द केसी सोह्रौं सत्याग्रहमा रहनुभएको, यसैबीच संसदका दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसरी विधेयक पारित गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनसँग मेल नखाने प्रावधानहरु समेत परेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।
डा केसीको सत्याग्रह आज २४ औं दिन पुगेको तथा उहाँको स्वास्थ्य अवस्था नाजुक भएको अवस्थाप्रति हामी चिन्तित छौं ।
नेपाल सरकारलाई आगामी दिनमा उक्त ऐनका प्रावधानहरु उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्मअनुसार हुने गरी सुधार गर्दै जान आग्रह गर्दर्छौं । साथै चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले उहाँको स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्नुहुन अनुरोध गर्दर्छौं । साथै ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु हामीले नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
केदारभक्त माथेमा
प्रा डा मदन उपाध्याय
प्रा डा रमेशकान्त अधिकारी
प्रा डा अर्जुन कार्की
प्रा डा भगवान कोइराला