काठमाडौं— सरकारले स्वास्थ्य संस्था नै नभएका देशभरका २ हजार ४ सय ७३ वटा वडामा नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ। यी वडामा दुई चरणमा संस्था निर्माण हुने छन्।
पहिलो चरणमा यो वर्ष १२ सय वडामा र दोस्रो चरणअन्तर्गत आगामी आर्थिक वर्षमा १३ सय १० वटा संस्था निर्माण हुने भएको हो।
आगामी आर्थिक वर्षमा निर्माण हुने १३ सय १० संस्थामध्ये १ हजार २ सय ७३ वटा स्वास्थ्य संस्था नै नभएको वडामा र ३७ वटा संस्था भने आवश्यकताअनुसार थप निर्माण हुने छ।
यस आधारमा हेर्दा अबको दुई वर्षमा २५ सय १० स्वास्थ्य संस्था निर्माणको काम अगाडि बढ्ने देखिन्छ।
संस्था निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडाहरुको पहिचान गरिसकेको छ।
नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले पहिलो वर्षका लागि चार अर्ब बजेट विनियोजन गरेको जानकारी दिए।
उनले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताए।
पहिलो चरणमा स्थानीय तहको माग, जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा भवन निर्माणका लागि स्थान छनोट गरिएको छ। मन्त्रालयले जनसंख्याका आधारमा टाइप १ र टाइप २ गरी दुई थरीका भवन निर्माण गर्ने कार्ययोजना बनाएको छ।
छनोट भएका सम्बन्धित वडाको जनसंख्या ७ हजार वा सोभन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३ सय ६० रुपैयाँसम्मको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ। जसलाई मन्त्रालयले टाइप १ अन्र्तगत राखेको छ।
त्यसैगरी, ७ हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडा वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ। जसलाई टाइप २ मा राखिएको छ। टाइप १ मा प्रसूति सेवा पनि हुनेछ भने टाइप २ भवनमा प्रसूति सेवा समावेश गरिएको छैन।
मन्त्रालयका अनुसार पहिलो वर्ष १ सय ३७ वटा टाइप १ र एक हजार ६३ वटा टाइप २ भवन निर्माण हुनेछ। भवन निर्माणका लागि सम्बन्धित प्रदेश सरकारमार्फत बजेट पठाइने छ।
यो वर्ष कुन प्रदेशमा कति?
यो वर्ष प्रदेश १ मा जम्मा २ सय ११ भवन निर्माण हुने छन्। जसमध्ये ३३ वटा टाइप १ र १ सय ७८ वटा टाइप २ भवन निर्माण हुने छन्।
प्रदेश २ मा टाइप १ भवन २९ वटा र टाइप २ भवन १ सय ८७ गरी जम्मा २ सय १६
प्रदेश ३ मा टाइप १ भ्वन १८ र टाइप २ भवन १ सय ४० गरी जम्मा १ सय ५८
गण्डकी प्रदेशमा टाइप १ भवन १८ र टाइप २ भवन १ सय १ गरी जम्मा १ सय १९
प्रदेश ५ मा टाइप १ भ्वन ७ र टाइप २ भवन १ सय ६८ गरी जम्मा १ सय ७५
कर्णाली प्रदेशमा टाइप १ भवन ३ र टाइप २ भवन १ सय ६७ गरी जम्मा १ सय ७०
सुदूरपश्चिम प्रदेशमा टाइप १ भवन २९ र टाइप २ भवन १ सय २२ गरी जम्मा १ सय ५१
तीन किस्तामा बजेट
आधारभूत स्वास्थ्य भवन निर्माणका लागि तीन किस्तामा बजेट उपलब्ध गराइने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रो र तेस्रो किस्तामा ३०÷३० प्रतिशत बजेट उपलब्ध हुनेछ। प्रदेशमा बजेट पठाउने विषयमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाएको छ।
नेपालमा हाल ६ हजार ७ सय ४३ वडाहरु छन्। तीमध्ये अहिले पनि कतिपय वडामा स्वास्थ्य संस्था नभएका वडाहरुमा निर्माण गर्ने भनिएको भवन तोकिएकै समयमा निर्माण गर्न भने चुनौती हुने देखिन्छ।
कुन प्रदेशका कति स्थानमा छैनन् स्वास्थ्य संस्था?
प्रदेश १ : ४१४
प्रदेश २ : ४५८
प्रदेश ३ : ३३४
गण्डकी प्रदेश : २५३
प्रदेश ५ : ३७१
कर्णाली प्रदेश : ३६१
सुदूरपश्चिम प्रदेश : ३१९
जम्मा देशभरका २ हजार ४ सय ७३ वडामा कुनै पनि प्रकारका स्वास्थ्य संस्था छैनन्।
आधारभूत स्वास्थ्य संस्था निर्माण हुने वडा निम्नानुसार छन्ः