काठमाडौं– ललितपुर एकान्तकुनास्थित रिदम न्युरोसाइक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टर चौथो वर्षमा प्रवेश गरेको छ।
अस्पतालले आयोजना गरेको तेस्रो वार्षिकोत्सव कार्यक्रमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सरकारले गर्नुपर्ने काम रिदमले गरेको बताए। उनले अस्पतालको सेवा सरकारी अस्पताल नपुगेको ठाउँमा विस्तार गर्दै लैजान सुझाव दिए।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफूहरुले विपत व्यवस्थापनको निम्ति एक करोडको कोष जम्मा गरेको र अध्ययन तथा विकासमा रिदमलाई सहयोग गर्न आग्रह गरे।
महानगरपालिकाकी उपमेयर गीता सत्यालले अब महानगरपालिकाभित्र सडकमा मानसिक समस्या भएका रोगी सुत्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुने बताएकी छन्।
उपमेयर सत्यालले भनिन्, ‘ललितपुर महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरेर मानसिक स्वास्थ्य समस्या भएका मानिसरहित सडक बनाउने तयारीमा छ।’ उनले रिदम हस्पिटलसँग ललितपुर महानगरपालिका हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताइन्।
रिदम न्युरोसाइक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टरको तेस्रो वार्षिकोत्सवको अवसर पारेर जटिल खालको मानसिक समस्याको उपचार गर्ने आरटिएमएस प्रविधि उद्घाटन गरिएको छ।
नेपालमा पहिलो पटक रिदम अस्पतालले यो प्रविधि भित्र्याएको अस्पतालका निर्देशक डा रितेश थापाले बताए।