काठमाडौं– जावलाखेलकी शारदा श्रेष्ठलाई १० वर्षअघि स्तन क्यान्सर भयो। क्यान्सर भएको थाहा पाउँदा जीवन नै समाप्त भएको अनुभव गरेकी थिइन् उनले। तर, उपचारपछि उनको क्यान्सर पूर्ण रुपमा निको भयो। अहिले शारदा स्वस्थ जीवन बिताइरहेकी छिन्।
‘क्यान्सर भएको थाहा पाउँदा मेरो जीवन अब सकियो भन्ने लागेको थियो’, उनले भनिन्, ‘छोराछोरीको चिन्ताले झनै सतायो।’ निको भएर नयाँ जीवन पाएपछि भने क्यान्सर पनि अरु रोगजस्तै हो भन्ने बुझिन् उनले।
शारदाले भनिन्, ‘क्यान्सर निको भएपछि पो थाहा पाएँ, यो अन्य रोग जस्तै हो, क्यान्सर भनेको नयाँ जीवन पनि हो भन्ने बुझें।’ त्यो बेला परिवारको साथ महत्वपूर्ण भएको उनले बताइन्।
अर्की क्यान्सर विजेता इन्दिरा तिवारीले आफ्नो स्तनमा तीन महिनासम्म गिर्खा आउँदा वास्ता नगरेको र पछि जाँच गराउँदा क्यान्सर भएको थाहा पाएको बताइन्।
इन्दिराले भनिन्, ‘मलाई स्तनमा गाँठागुठी आए जाँच गराउनुपर्छ भन्ने थाहा थियो तर त्यो बेला के भयो, म अस्पताल गइनँ, तीन महिनासम्म त्यसै बसें, पछि साथीको करले अस्पताल गएको त क्यान्सर भइसकेको रहेछ।’
विश्व क्यान्सर दिवस २०१९ का अवसरमा क्यान्सर केयर नेपाल, नेपाल क्यान्सर हस्पिटल जावलाखेलले जनचतेना तथा अन्तक्र्रिया कार्यक्रममा क्यान्सर विजेता आफ्ना अनुभव सुनाइरहेका थिए।
उनीहरुले क्यान्सर निको भएपछि नयाँ जीवन पाएको उल्लेख गर्दै जीवन जिउने सकारात्मक सोच आएको बताए। अहिले स्वस्थ जीवन जिउनुका साथै क्यान्सरबारे जनचतेना कार्यक्रममा सरिक हुन थालेको उनीहरुले बताए।
कार्यक्रममा क्यान्सर रोगबारे जानकारी दिँदै क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंले समयमै पत्ता लगाउनसके यो निको हुने बताइन्। उनले भनिन् ‘क्यान्सर हुनेबित्तिकै मरिन्छ भन्ने होइन, उपचार सम्भव छ, त्यसैले समयमै उपचारमा जानुपर्छ।’
उनले सरकारले क्यान्सरको सही तथ्यांक राख्नुपर्ने बताइन्। ‘हामीकहाँ कुन क्यान्सर कति छ, कुन उमेरकालाई छ भन्ने तथ्यांक छैन,’ उनले भनिन् ।
जीवनशैली, खानपान, धूमपान, मद्यपानले पनि क्यान्सर रोगीको संख्या बढ्दै गएको चिकित्सक बताउँछन्।
तीन हप्ताभन्दा बढी बिना कारण खोकी लागिरह्यो, पोलेको वा कुनै कारणले भएको घाउ लामो समयसम्म निको भएन, निल्न, पचाउन समस्या भयो, दिसामा रगत आयो, खाना ठिक छ तर तौल घट्दै गयो, महिनावारी भएको समयमा अस्वभाविक रुपमा बढी रगत गइरह्यो भने स्वास्थ्य जाँच गराउनुपर्ने चिकित्सक बताउँछन्।