काठमाडौं- नेप्लिज एसोसिएसन अफ ओरल एन्ड म्याग्जिलोफेसियल सर्जन्स्मा नयाँ कार्यसमिति चयन भएको छ।
धुलिखेलमा भएको ९ औं वार्षिक सम्मेलन तथा संयुक्त वैज्ञानिक सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा डा सुदिप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा डा चन्दन उपाध्याय, उपाध्यक्षमा डा प्रणय शाक्य, कोषाध्यक्षमा डा सन्ध्या जोशी, महासचिवमा डा कृष्ण गोपाल भुजु र सचिवमा डा किशोर भण्डारी चयन भएका छन्।
कार्यसमिति १९ सदस्यीय रहेको छ। प्रत्येक प्रदेशबाट कम्तिमा एकजना सदस्य हुने गरी उक्त कार्यसमिति बनेको सम्मेलनका संयोजक तथा नवनियुक्त वरिष्ठ उपाध्यक्ष डा चन्दन उपाध्यायले जानकारी दिए।
ओरल एन्ड म्याग्जिलोफेसियल सर्जरीका विषयमा नयाँ नयाँ जानकारी दिन आयोजित सम्मेलनमा जापानबाट आएका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो। उक्त सम्मेलनमा ओरल एन्ड म्याग्जिलोफेसियल सर्जरीका विषयमा १८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। जसमा १२ वटा नेपाली चिकित्सकले र बाँकी ६ वटा जापानको जापानी सोसाइटी अफ ओरल एन्ड म्याक्जिलोफेसियलका प्रतिनिधिले गरेका थिए।
जापानी एसोसिएसन र नेपालको एसोसिएसनबीच सुरुको वर्षदेखि नै सहकार्य हुँदै आइरहेको छ।
म्याग्जिलोफेसियल सर्जरीलाई सबैभन्दा कान्छो सर्जरीको रुपमा चिनिन्छ।

