बनियानी- झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच आज दुई बुँदे सहमति भएको छ।
अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो।
बालकको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भएको आरोप लगाएका छन्। उनीहरुले आइतबार राति तोडफोड समेत गरेका थिए ।
बालकको मृत्युपछि अस्पतालमा तनाव सिर्जना भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको सर्वपक्षीय छलफलपछि पीडित परिवार र अस्पताल प्रशासनबीच दुई बुँदे सहमति भएको प्रहरी नायब निरीक्षक सुवास खड्काले जानकारी दिए।
सहमतिमा उक्त घटनामा अस्पतालको लापवाही भए/नभएको छानबिन गर्न मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण गरिने भएको छ । उक्त समितिले १० दिनभित्रमा घटनाको प्रतिवेदन सार्वजनिक गर्ने र त्यसपछि पीडित परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा छलफल गरिने सहमति भएको खड्काले बताए।
आइतबार साँझ ७ बजे जेनिसलाई पखाला लागेर उपचारका लागि अस्पताल ल्याइएको थियो। उपचारका क्रममा आकस्मिक कक्षमा नर्सले सुई दिएको केही समयपछि उनको मृत्यु भएको बालकका हजुरबुबा श्रीलाल राजवंशीले बताए। रासस