राजविराज– सप्तरीमा ३ वर्षपछि कालाजारका एक जना बिरामी भेटिएका छन्। छिन्नमस्ता गाउँपालिका–७ का ३५ वर्षीय मधुराम सदालाई कालाजार भएको राजविराजस्थित सरगमाथा अञ्चल अस्पतालले जनाएको छ।
सदा सोमबार मात्रै उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। आवश्यक जाँच गर्दा उनमा कालाजार भेटिएको अस्पतालका मेडिकल रेकर्डर रामकुमार दियालीले जानकारी थिए। थप उपचारका लागि मंगलबार बिहान सदालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।
विशेष जाँच र आवश्यक औषधिको समेत अभाव रहेकाले उनलाई रेफर गरिएको अस्पतालले जनाएको छ। ‘शरीरका अधिकांश भागमा गिर्खाहरु देखिएका छन्। यो कालाजारको अन्तिम अवस्था हो’, मेडिकल रेकर्डर दियालीले भने, ‘यसलाई विशेष उपचारको आवश्यकता देखिएकाले प्रारम्भिक उपचार गरी रेफर गरिएको हो।’
८० वर्षीय आमा गेनादेवी सदाका अनुसार ५ वर्षको उमेरमै मधुरामलाई कालाजार लागेको थियो। यसअघि सगरमाथा अञ्चल अस्पतालमै उपचार गराएपछि रोग निको भएको उनले बताइन्। तर, ३÷४ वर्ष अघिदेखि रोग बढ्दै गएको र शरीरका अधिकांश भागमा गिर्खा देखिन थालेपछि उपचारका लागि अस्पताल आएको मधुरामले बताए।
उनले गत माघ ३ गते लालगढ अस्पतालमा पनि गिर्खाहरु चेक गराएका थिए। अस्पतालको पुर्जा देखाउँदै उनले भने, ‘त्यहाँ पनि कालाजार भएको भनेपछि फर्केर यहाँ आएँ।’
मधुराम भन्दाअघि सन् २०१६ मा पनि सप्तरीमा एक महिलासहित २ जनामा कालाजारको संक्रमण देखिएको थियो। तराईमा पाइने ‘स्यान्ड फ्लाई’ नामको भुसुनाको टोकाईबाट कालाजार संक्रमण हुने गर्छ। प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारण लाग्ने यो रोग पछिल्लो समय पहाडी र हिमाली भेगमा समेत देखा पर्न थालेको छ।
सरकारले सन् २०२० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य लिएको छ।