काठमाडौं– नेपाल चिकित्सक संघले देशभरका डाक्टरको दरबन्दी संघ अन्तर्गत राख्न सरकारसँग माग गरेको छ। संघले संघीय संरचना अनुसार समायोजन गर्दा सबै डाक्टरहरुको दरबन्दी संघमा राखेर आवश्यकता अनुसार प्रादेशिक तथा स्थानीय तहमा खटाउन सरकारसँग माग गरेको हो।
संघले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघ अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा पुल दरबन्दी कायम गरी आवश्यकता अनुसार निश्चित समयावधिका लागि प्रदेश र स्थानीय तहमा काजमा खटाउने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ।
‘स्वास्थ्य सेवा संवेदनशिल क्षेत्रमा काम गर्ने चिकित्सकहरुको ज्ञान, क्षमता र वृद्धिविकासका लािग संघमा आउनु पर्ने भएको हुनाले स्वास्थ्य संस्थाहरुमा पुल दरबन्दी कायम गरी प्रादेशिक तथा स्थानीय तहको आवश्यकता अनुसार निश्चित समयावधिका लागि काजमा खटाउने व्यवस्था सुनिश्चित गरे पश्चात मात्र चिकित्सकहरुको समायोजन प्रक्रिया अगाडि बबढाउन अनुरोध छ,’ संघका महासचिव डा लोचन कार्कीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ।
संघले स्थानीय तथा प्रादेशिक संरचना अनुसारका स्वास्थ्य संस्थामा कार्यरत डाक्टरहरुलाई संघ अन्तर्गतका सवस्थ्य संस्थामा सरुवा हुन पाउने प्रावधानको व्यवस्था गर्न समेत माग गरेको छ।
