राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा हाइड्रोसिलको शल्यक्रिया सुरु भएको छ ।
अस्पतालले हाइड्रोसिलको शल्यक्रिया र औषधोपचारका लागि २ जना कन्सल्ट्यान्ट डाक्टरसहित ५ जना स्वास्थ्यर्मीको व्यवस्था मिलाएको जनाएको छ।
तथ्यांकअनुसार मुलुकभर रहेका ६ हजार ६ सय ११ जना हाइड्रोसिलका बिरामीमध्ये सप्तरीमा मात्रै १ हजार १ सय ८६ जना बिरामी रहेको पाइएपछि अस्पतालमा शल्यक्रिया सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
हाइड्रोसिलको सल्यक्रिया र औषधोपचार सेवा निःशुल्क र निरन्तर रुपमा सञ्चालन हुने उनले बताए।
सप्तरीमा हाइड्रोसिलका बिरामीको संख्या बढी भएकाले यो सेवा सुरु गरिएको डा सरोजकुमार यादवले जानकारी दिए। ‘गत वर्ष विराटनगरमा पनि हाइड्रोसिलको शल्यक्रिया भएको थियो,’ उनले भने, ‘त्यसमा पनि अधिकांश बिरामी सप्तरीकै थिए। अब सप्तरीका बिरामीले अन्यत्र जानु पर्दैन।’
यसैगरी अस्पतालमा आंशिक रुपमा सञ्चालन हुँदै आएको आङ खस्ने समस्याको उपचार र बन्ध्याकरण सेवालाई पनि निःशुल्क सञ्चालनको व्यवस्था मिलाइएको छ।
चालु आर्थिक वर्षमा आङ खस्ने ५ जना बिरामीले अस्पतालबाट सेवा लिइएको मेसु दासले जानकारी दिए। गत वर्ष सीमित अवधिका लागि दिइएको यो सेवावाट ४१ जना लाभान्वित भएका थिए।
यसैगरी, चालु आर्थिक वर्षमा २ सय ३९ जनाले बन्ध्याकरण सेवा लिएका छन्। गत वर्ष १ हजार २ सय ४० ले बन्ध्याकरण गराएका थिए।
विगतका वर्षहरुमा आङ खस्ने र बन्ध्याकरण सेवा जाडो मौसममा मात्रै सञ्चालन हुँदै आएको थियो।
अञ्चल अस्पतालमा यसअघि गत भदौ १ गतेदेखि डायलाइसिस सेवा तथा पुस २६ गतेदेखि एनआइसियू सेवा पनि थप गरिएको छ।
डायलाइसिस सेवाका लागि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको विशेष पहलमा दुई वटा मेसिनसहित २ करोड २४ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा स्वास्थ्य विभागमार्फत दुई वटा गरी ४ वटा मेसिन जडान गरिएको छ।
यसैगरी २ करोडभन्दा बढीका अत्याधुनिक उपकरण जडान गरिएको एनआइसियू सेवा ५ बेडमा सञ्चालन छ।