काठमाडौं– साझा स्वास्थ्य सेवा सहकारी संस्थाले मातहतका पाँच जना कर्मचारीलाई निलम्बन गरेको छ। संस्थाका बिक्री कक्षहरुमा आर्थिक हिनामिना गरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सो संस्थाले जनाएको छ।
निलम्बनमा पर्ने कर्मचारीमा तत्कालीन महाराजगञ्ज बिक्री कक्षका इञ्चार्ज नीरप्रसाद काफ्ले, काठमाडौं शाखाका आशुतोष अधिकारी, तत्कालीन बुटवल बिक्री कक्षका इन्चार्ज बाबुराम भण्डारी र महेन्द्रनगर बिक्री कक्षका इञ्चार्ज गजेन्द्र कार्की र बुटवल बिक्री कक्षका अर्का कर्मचारी कृष्ण सिवाकोटी रहेको संस्थाका महाप्रवन्धक शंकर ढकालले जानकारी दिए।
निलम्बित कर्मचारीहरुले भने आफूहरुलाई बदनियतपूर्ण ढंगले फसाइएको बताएका छन्। तत्कालीन महाराजगञ्ज बिक्री कक्षका इञ्चार्ज काफ्लेले साझा स्वास्थ्य सेवा सहकारीको अपारदर्शी नीति र चरम लापरबाहीका कारण सहायकस्तरका कर्मचारीहरुलाई फसाइएको गुनासो गरे।
‘ममाथि जुन आरोप लगाएर निलम्बन गरिएको छ, यो सरासर संस्थाको अपारदर्शी नीतिको परिणाम हो,’ उनले भने, ‘मलाइ चाबहिल शाखाबाट महाराजगञ्ज बिक्री कक्षमा सरुवा गरिएपछि त्यहाँको वस्तुस्थिति बुझेर समस्या समाधानको लागि पटक–पटक व्यवस्थापनलाई लिखित तथा मौखिक जानकारी गराउँदा समेत कुनै सुनुवाइ गरिएन।”
यस विषयमा संस्थाका महाप्रबन्धक शंकर ढकालले समग्र संस्थाको अपारदर्शी नीतिभन्दा पनि व्यापार महाशाखाको असक्षमताका कारण पनि समस्या आएको स्वीकार गरे।
व्यापार महाशाखाले काउन्टरहरुको नियमित अनुगमन नगरेको, आन्तरिक लेखा परीक्षण महाशाखाले हरेक तीन महिनामा गरिने भौतिक गणनाको हिसाब समयमै नदिएका कारण हिसाबकिताब नमिलेको हुनसक्ने बताउँदै उनले व्यापार महाशाखा लगायत आलेप महाशाखा पनि कारबाहीको दायरामा आउने प्रतिक्रिया दिए।