काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघले चिकित्सकहरुको समायोजन सम्झौता पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष आग्रह गरेको छ।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरुबारे स्वास्थ्य मन्त्रालयको विभिन्न निकायमा छलफल गरिसकेको र संघीय संरचनाअनुसार चिकित्सको समायोजन विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
आयुर्वेद चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सम्पूर्ण चिकित्सकलाई पुल दरबन्दीमा राखी संघ तथा प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्रमा खटाउने र संघमा आउने बाटो खुल्ला राख्ने लगायत सम्झौता भएको थियो।
पुस ३० गते भएको सम्झौताको अक्षरशः पालना गर्न संघले माग गरेको हो।
त्यसैगरी नेपाल चिकित्सक संघले माघ २२ गते मन्त्रालयमा बुझाएको समायोजनसम्बन्धी ज्ञापनपत्रप्रति आयुर्वेद चिकित्सक संघको ऐक्यबद्धता रहेको संघका अध्यक्ष प्रकाश ज्ञवालीले बताए।