काठमाडौं- सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको छ।
समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज बसेको बैठकले समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठन गरेको सो उपसमितिमा सांसद अञ्जना विसङ्खे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी रहेका छन्।
विसं २०१६ मा स्थापित तत्कालीन राप्ती अञ्चलको सबैभन्दा जेठो सो अस्पताललाई विस २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो। करीब २२ लाख जनसङ्ख्याको विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रुपमा रहेको सो अस्पतालमा कार्यरत कर्मचारी विसं २०७५ माघ २ गतेदेखि विभिन्न माग राखी आन्दोलित रहेका छन्।
सो उपसमितिलाई प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन १५ दिनको समयावधि तोकिएको छ। आजको बैठकमा समितिका सदस्यद्वय अधिकारी र योगेश भट्टराईले स्वास्थ्यका सबै प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गरे। रासस