काठमाडौं- तलब सुविधा बढाउनुपर्ने माग राख्दै इन्टर्न डाक्टरहरु आन्दोलित भएका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मेडिकल शिक्षा पढाइ हुने अन्य संस्थाहरुमा अध्ययनरत इन्टर्न र आवासीय डाक्टरहरुले विरोध गर्न सुरु गरेका हुन्।
इन्टर्न तथा आवासीय डाक्टरहरुले पाकिस्तान तथा भारतमा जस्तै सेवा–सुविधा हुनुपर्ने माग राखेका छन्। नेपालका इन्टर्न डाक्टरहरुलाई १० देखि १५ हजारसम्म मात्रै तलब सुविधा दिइँदै आएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्।
यही क्रममा तलब सुविधा बढाउनुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्न डाक्टरहरु धर्नामा बसेका छन्।
इन्टर्न डाक्टरहरुलाई दिइँदै आएको तलब सुविधा १२ बढाएर १६ हजार पु¥याउनुपर्ने, प्रतिष्ठान प्रशासनले विद्यार्थी कल्याण कोषको रकम विद्यार्थीकै हितमा प्रयोग गर्नुपर्ने, प्रतिष्ठानको नियमअनुसार वार्षिक रुपमा तलब वृद्धिदर लागू गर्ने पर्ने र रात्रिकालीन ड्युटीको भत्ता दिइनुपर्ने माग राख्दै उनीहरु सोमबारबाट धर्ना बसेका हुन्।
विद्यार्थी कल्याण समाजले गत असार १३ र असोज २५ गते बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनालसमक्ष आफ्ना मागसहितको निवेदन पेस गरेका थिए। निवेदनको सुनुवाइ नभएपछि उनीहरुले माघ १० गते उपकुलपति प्राडा राजकुमार रौनियारसमक्ष सात दिने अल्टिमेटमसहित अर्को निवेदन पेस गरेका थिए।
कतैबाट सुनुवाइ नभएपछि निर्णायक आन्दोलन थालेको समाजका अध्यक्ष डा अभिषेक अमरले बताए। उनले मंगलबारबाट कालोपट्टी बाँधेर आन्दोलन गर्ने बताए। उनले भने, ‘हामीले शान्तिपूर्ण आन्दोलन थालेका छौं, हाम्रा माग सुनुवाइ नभए कडा आन्दोलन गर्छौं।’
प्रतिष्ठानको आकस्मिक कक्ष, ओपिडी र विभिन्न वार्डमा कार्यरत तथा धनकुटा, इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी र सुनसरीका विभिन्न अस्पतालमा इन्टर्न गरिरहेका एमबिबिएस र बिडिएस डाक्टरहरु विद्यार्थी कल्याण समाजको व्यानरमा प्रतिष्ठानमा धर्नामा बसेका छन्। प्रतिष्ठान र अन्य अस्पतालमा जम्मा १ सय ५० इन्टर्न डाक्टर कार्यरत छन् ।