रामेछाप– मन्थली नगरपालिका–५ सुनारपानीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाली सेनाको नन्दाबक्स गणको आयोजना तथा किष्ट अस्पताल काठमाडौं, तामाकोसी सहकारी अस्पताल मन्थली, जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीसँगको समन्वयमा शिविर सञ्चालन गरिएको हो।
शिविरको संयोजन किष्ट अस्पताल ललितपुरले गरेको थियो। भैरवी माध्यमिक विद्यालय सुनारपानीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय १० जना बिरामीले स्वास्थ्य जाँच गराएको डा. अभिषेक थापाले जानकारी दिए।
शिविरमा छाति, मुटु, नाक, कान, घाटी, हड्डी, स्त्री रोग, छाला, आँखा, बाल विशेषज्ञ साथै सर्जन डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण गराइएको थियो। शिविरमा धेरैजसो बिरामीहरु अर्थोपेडिक (हड्डी) सम्बन्धिका आएको पनि डा. थापाले बताए।
शिविरमा आएर स्वास्थ्य परीक्षण गराएका बिरामीहरु मध्य केही बिरामीहरुको उचार जिल्लामा रहेको स्वास्थ्य संस्थाबाट हुन नसक्ने भएकाले उनीहरुको उपचारको लागि किष्ट अस्पतालमा व्यवस्था मिलाइएको तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले बताए।
शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई किष्ट अस्पतालले १० प्रतिशत छुट सेवामा उपचार गराउँने समझदारी भएको पनि डा. कार्माचार्यले बताए।
बिरामीलाई सहज, सरल र शुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले सबै प्रकारका रोग विशेषज्ञहरु ल्याएर शिविर सञ्चालन गरिएको नन्दाबक्स गणका प्रमुख सेनानी प्रमोद कुमार थापाले बताए।