डडेल्धुरा– नवदुर्गा गाउँपालिकाले महिला शिक्षिका र विद्यार्थीका लागि स्यानेटरी प्याड निर्माण, महिनावारी व्यवस्थापन, छाउपडी र पोषणसम्बान्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नवदुर्गा गाउँपालिकाका पाँचै वडामा रहेका माध्यमिक र निम्नमाध्यमिक विद्यालयका शिक्षिका र विद्यार्थीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम वडा नं २ मणिलेकबाट सुरु गरी, वडा नं १ कोटेली, वडा नं ४ बेलापुर, वडा नं ३ नवदुर्गा र वडा नं ५ चामाचौडमा क्रमश: आयोजना गरी सम्पन्न गरिएको थियो।
कार्यक्रममा एउटा वडाका ३५-४० जना महिला शिक्षिका र किशोरीलाई सहभागिता गराई संचालन गरिएको थियो। पाँचै वडाका जम्मा २ सय जना महिला शिक्षक र किशोरी सहभागी भएका थिए।
कार्यक्रममा महिनावारी प्रक्रिया, महिनावारीका बेला भोग्नुपरेका समस्या, महिना हुँदा ध्यान दिनुपर्ने कुराहरु, सरसफाइ, स्यानेटरी प्याड निर्माण र प्रयोगको महत्त्व, प्याड बनाउने तरिका, छाउपडी प्रथा र पोषणसम्बन्धी विषयमा छलफल भएको थियो ।