भक्तपुर– भक्तपुर अस्पतालमा नयाँ भवन बन्नुका साथै भुकम्पले क्षति पुर्याएको भवन रेट्रोफिटिङ्ग हुने भएको छ।
बेलायती सहयोग नियोग (डिएफआइडी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा भक्तपुर अस्पतालको नयाँ भवन बनाइदिने भएको हो। अस्पतालको नयाँ भवन र रेट्रोफिटिङ गर्ने भवनको गुरुयोजना अनुसार काम अगाडि बढ्ने छ।
डिएफआइडीले तीन वटा नयाँ भवन निर्माण गर्ने र हाल सञ्चालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्न सहयोग गर्ने बताइएको छ।
नयाँ भवन निर्माण र रेट्रोफिटिङ गर्ने सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ।
अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्याराज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले बेलायती सहयोग नियोगको सहयोगमा बन्न लागेको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।
उनले देशको जनसंख्या वृद्धि भइरहे पनि दरबन्दी भने पुरानै संरचनामा रहेकोमा चिन्ता व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउन संघीय मामिला मन्त्रालयले नदिएको आरोप समेत लगाए।
प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले भक्तपुर अस्पताललाई भौतिक रुपमा सम्पन्न बनाइने बताए।
डिएफआइडीका महानिर्देशक रिचार्ड क्लार्कले डिएफआइडिले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गरीरहेको बताए।
अस्पतालकी प्रमुख सुपरिटेण्डेन्ट डा सुधा देवकोटाले भक्तपुर अस्पताल धेरै समस्या बाट गुज्रनुपरेको गुनासो गरिन्।