जुम्ला– कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अब कुनै पनि कर्णालीबासीले उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने बताएका छन्।
प्रदेश सरकार कर्णालीको स्वास्थ्य र समृद्धिमा जुटेको बताउँदै उनले निकट भविष्यमै स्थानीय तहसम्मका स्वास्थ्य संस्थालाई गुणस्तरीय बनाउने उल्लेख गरे।
विश्व स्वस्थ्य संगठनको सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सञ्चालित अस्पताल विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तालिम तथा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्रीले रावलले कर्णालीका सबै स्वास्थ्यकर्मी प्रकोेप पूर्वतयारीमा जुट्नु पर्ने बताए।
उनले भने, ‘कर्णाली प्रदेश बाढी, पहिरो र भूकम्पको उच्च जोखिममा छ। कुनै पनि बेला आउनसक्ने विपत्तिको सामाना गर्न सबै एकाकार भएर प्रतिकार्य योजनामा लाग्ने समय आएकोले यसका लागि स्वास्थ्य क्षेत्रले चिन्ता र चासो राख्नुपर्छ।’
उनले भर्खरै सम्पन्न कर्णाली प्रदेश समन्वय परिषद्को बैठकले पनि दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको उपलब्धता नभएको ठाउँमा पूर्वतयारीका क्रियाकलापलाई अघि बढाएर लैजाने विषयमा गम्भीर छलफल भइसकेको जानकारी दिए।
स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रको प्रवद्र्धनमा कर्णाली प्रदेश सरकार लागिपरेको बताउँदै मन्त्री रावलले अहिले पनि पहुँचका आधारमा स्वास्थ्य सेवा विस्तार भइरहेकोप्रति आपत्ति प्रकट गरे।
‘देश संघीयतामा गइसकेको अवस्थामा पनि केन्द्रीकृत राज्यसत्ताको पालामा जस्तो स्वास्थ्य क्षेत्रमा सिन्डिकेट कायम छ,’ उनले भने, ‘समानुपातिक स्वास्थ्य सेवा वितरणमा कर्णाली प्रदेश सरकारको पैरवी आवश्यक छ । यो भूमिका कर्णाली प्रदेश सरकारले निर्वाह गर्छ।’
कार्यशालामा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका स्वास्थ्यकर्मीको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईंले जानकारी दिए।