धादिङ- उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ।
विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिए।
यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर यसले महामारीकै जस्तो रुप देखिएको छ। यो लक्षण विद्यालयका शिक्षक र केही अभिभावकमा समेत देखापरेको शिक्षक शाहले बताए।
विद्यार्थी, शिक्षक र अभिभावकसमेत बिरामी परेपछि विद्यालयमा स्वास्थ्यकर्मी पठाइएको र उपचार शुरु गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ। रासस