जुम्ला– अस्पतालमा हुने कुनै पनि विपद्का क्रियाकलाप न्यूनीकरणका लागि कर्णालीका अस्पताल विपद् प्रतिकार्य योजना निर्माणमा जुट्ने भएका छन्।
विपद्का बेला आइपर्ने समस्यासँग जुध्न र आउन नदिनका लागि प्रतिकार्य योजना बनाउन लागिएको हो। विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सञ्चालित ‘अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी’बाट उक्त योजना निर्माण गरिने अस्पताल निर्देशक धर्मराज गोसाईले बताए।
उनका अनुसार योजना निर्माण र विपद् प्रकोप नियन्त्रणबारे कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मी भेला भएर छलफल भइरहेको छ।
स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले कर्णाली लगायतका छिमेकी प्रदेशसम्म भूकम्प जाने खतरा देखिएकाले पूर्व तयारीका योजना निर्माणमा जुटेको बताए।
बाढी, पहिरो, झाडापखाला लगायतका प्रकोप बढ्न सक्ने भएकोले स्वास्थ्यकर्मीलाई विपद् नियन्त्रण बारेमा सचेतना अभिवृद्धि गर्न लागिएको हो।
उनले भने, ‘कर्णालीलाई वैज्ञानिकहरूले भूकम्पीय उच्च जोखिममा राखेका छन्। विपद् आउनुपूर्व नै तयारीको काम गर्न बृहद छलफल भइरहेको छ।’
अस्पतालहरूमा औषधि र सामग्री तयारी अवस्थामा राख्नेदेखि स्वास्थ्यकर्मीलाई तालिम दिएर जुनसुकै विपद्मा पनि उपचार सेवा प्रवाह गर्न सक्ने बनाउने उनले बताए।
सरकारी तथा निजी अस्पताललाई समेत तालिम प्रशिक्षण उपलव्ध गराइरहेको भण्डारीले बताए।
कार्यशालामा अस्पतालले गर्ने पूर्व तयारी, आपतकालीन सेवा र योजना निर्माणको विषयमा छलफल भइरहेको छ।
४ दिनसम्म चल्ने कार्यशालाले विपद्का बेला स्वास्थ्य क्षेत्रवाट गर्ने सबै प्रकारका तयारीका बारेमा निक्र्योल निकाल्ने छ। ३ वटै प्रदेशबाट झण्डै ५० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ।