अछाम– अछामको चौरपाटी गाँउपालिकामा अस्पताल स्तरीय सेवा सुरु गरिएका छ। गाँउपालिकामा रहेको चौरमाडौं प्राथमिक स्वास्थ्य केन्दलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालको रुपमा सञ्चालन गरिएको हो।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग न्याय हेल्थ नेपालले सम्झौता गरेपछि गाँउपालिकाको सहकार्यमा सेवा सुरु गरिएको छ।
अमेरिकी संस्था पोसिबल हेल्थका प्रमुख कार्यकारी अधिकृत डा डंकन मारु, न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनी तथा गाँउपालिकाका अध्यक्ष हर्क साउदले आइतबार संयूक्त रुपमा अस्पताल उद्घाटन गरे।
न्याय हेल्थ नेपालबाट चौरमाडौंका लागि खटिएको डाक्टर बिप्लव श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीको समूहले एक जना बिरामीको उपचार गरेर सेवा सुरु गरे।
गाँउ नजिकै अस्पताल सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन्। विगतको स्मण गर्दै गाँउका समाजसेवी जयबहादुर साउदले भने, ‘यस ठाँउमा स्वास्थ्य चौकी स्थापना गर्न निकै ठूलो संघर्ष गर्नु परेको थियो। अब अस्पताल सञ्चालमा आएपछि दःुखी बिरामीको घाउमा मल्हम लाग्ने विश्वास छ।’
उनले उपचार अभावमा अकालमै ज्यान गुमाउनु परेको तीतो यथार्थ समेत सुनाए।
कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष हर्क साउदले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन नयाँ हेल्थको सेवालाई आफ्नो गाँपालिकामा प्रवेश गराउन सफल भएको बताए।
स्वास्थ्यका लागि अब चौरपाटीको ढोका सधैँ खुला भएको भन्दै अध्यक्ष साउदले समुदायले सहज सेवा पाउने विश्वास व्यक्त गरे।
सेवालाई थप सुदृढ र प्रभावकारी बनाउन गाँउपालकिाले सधैँ सहयोग गर्ने र यसमा सबै पक्ष जिम्मेवार बन्नका निम्ति उनले आग्रह गरे।
कार्यक्रममा पोसिबल हेल्थका प्रमुख कार्यकारी अधिकृत डा मारुले यहाँको स्वास्थ्य क्षेत्र एकदम जटिल अवस्थामा भएकाले सुधारका लागि आफूले सहयोग तथा पहल गर्दै आएको बताए।
न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक कलौनीले दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य तथा शिक्षा जस्ता अत्यावश्यक सेवाहरूको व्यवस्थापन गर्नतर्फ सबैले ध्यान दिनुपर्ने बताए।
बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले पैसा अभावले कैसले पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यका साथ अस्पताल निर्माण गरिएको बताए।
नेपाल सकारकारको सरकारी गैरसरकारी साझेदारी अवधारणा अनुसार निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सञ्चालन गरिएको हो। अस्पताल सञ्चालनपछि राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम तथा कार्य सम्पादनका आधारमा चौरमाडौंले अनुदान प्राप्त गर्ने प्रावधान रहेको छ।
न्याय हेल्थ नेपालले एक दशक देखी नेपालका दुर्गम क्षेत्रका समुदायलाई अस्पताल सहितको सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। नेपाल सरकारसँगको साझेदारी तथा सहकार्यमा सुदूरपश्चिमको अछाममा बयालपाटा अस्पतालबाट र २०७२ सालको भुकम्पपछि दोलखा चरिकोट अस्पताललाई व्यवस्थापन गर्दै निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।
३ सय ७० जना कर्मचारीसहति वार्षिक १ लाख ६५ हजार भन्दा बढी बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको यस संस्थाले एकीकृत स्वास्थ्य प्रणाली मार्फत ७ लाख भन्दा बढी बिरामीलाई प्रत्यक्षसेवा दिइसकेको छ।