चितवन-देशको मुख स्वास्थ्य नीति स्पष्ट हुनुपर्ने दन्त चिकित्सकहरूले माग गरेका छन्। नीति स्पष्ट नहुदाँ दन्त रोगका विरामीहरु बढेको उनीहरूकाे भनाइ छ। मुख तथा दन्त स्वास्थ्य सेवा जनताको पहुँचमा सर्वसुलभ ढंगबाट पुग्ने नीति नभएकै कारण यस्तो समस्या विकराल बन्दै गएको उनीहरुको ठहर छ।
पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा आयोजित देशभरका दन्त चिकित्सकहरुको कार्यशाला भेलामा सहभागी दन्त चिकित्सकहरुले साे विचार व्यक्त गरेका हुन्। कार्यशालामा चिकित्सकहरूले नेपालमा दन्त रोगको निराकरण गर्न हरेक स्वास्थ्य केन्द्र तथा उप स्वास्थ्य केन्द्रहरुमा दन्त स्वास्थ्यकर्मीहरुको दरवन्दीको व्यवस्था गर्ने नीति कार्यान्वयन तत्कालै गर्नुपर्ने माग समेत राखेका थिए।
कार्यशालामा सहभागी अधिकाशं चिकित्सकहरुले दन्त स्वास्थ्य सम्वन्धि राष्ट्रिय नीति तथा कार्यक्रमहरु बनाउने तथा दन्त स्वास्थ्यकर्मीहरुको पेशागत हकहितका सम्वन्धमा चासो देखाएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल दन्त चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा प्रविन्द्र अधिकारीले विरामीहरुले दन्त चिकित्सक पहिचान गर्न नसकेको वताए । उनले दाँतको रोगलाई विरामीले सामान्य रुपमा लिने बताउँदै भने 'अन्तिम अवस्थामा मात्रै सम्वन्धित डाक्टरसंग उपचारका लागि आउने गर्छन् त्यसैले सचेतनाका कार्यक्रम आवश्यक छ।
संघका केन्द्रिय महासचिव कुम्भराज जोशीले मेडिकल काउन्सिलमा २ हजार ६ सय मात्रै दन्त चिकित्सक दर्ता भएको र वार्षिक ६ सयको हाराहारीमा मात्रै चिकित्सक उत्पादन हुने गरेको वताए । उनले दाँत उपचारका लागि नेपालमा छुट्टै अस्पताल नहुदाँ आफुहरुले यस्तै सम्मेलनमा दन्त चिकित्सकहरुको समस्या,अवसर र चुनौतीका विषयमा छलफल गर्नुका साथै कार्य अनुभव आदानप्रदान गर्ने माैका पाउने बताए ।
कार्यशालामा बोल्दै चितवन डेन्टल एसोसियसनकी अध्यक्ष डा विष्णुमाया खरेलले मुख स्वास्थ्य राम्रो नहुँदा शरीरमा विभिन्न किसिमका रोगहरु लाग्ने हुनाले मुख तथा दन्त स्वास्थ्यको बारेमा चेतना अभिवृद्धि गराउन कार्यक्रम उपयोगी बन्ने बताईन्।
भेलामा देशभरका भण्डै १ सय बढी दन्त चिकित्सकहरु सहभागी छन् ।