खोटाङ– खोटाङका विभिन्न स्थानमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग, उपचारात्मक महाशाखाको आयोजनामा शिविर माघ १२ देखि २४ गतेसम्म सञ्चालन भएको थियो।
खोटाङको मानेभन्ज्याङ, साकेला, ओखे्र, जनसेवा, बिहुँ, चिप्रिङ, सिम्पानी, खोटाङ बजार, चिसापानी बजार र धर्तुङ्कमा सम्पन्न भएको थियो।
शिविरमा छाला, हाडजोर्नी, छाती, बालरोग, जेष्ठ नागरिक, स्त्रीरोग, दन्त सेवा, आँखा, स्तन क्यान्सर स्क्रिनिङ, भिडियो एक्सरे, चिनीरोगको परीक्षण, आयुर्वेद, योग तथा जीवनशैली व्यवस्थापन लगायत विषयमा सेवा दिइएको थियो। बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरका संयोजक तथा उपचारात्मक सेवा महाशाखाका आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले घुम्ती शिविरमा ४ हजार ५ सय बढी मानिसले सेवा लिएको जानकारी दिए।
शिविरमा ४ सय महिलाको म्यामोग्राम गरिएकोमा १ सय ५ जनाको स्तनमा गिर्खा वा डल्लो भेटिएको, ७ सय २६ स्त्री रोग महिलाको उपचार, १ सय १३ जनाको चिनीरोगको पहिचान, ७ सय ६४ जना बिरामीको दाँत उपचार गरिएको थियो।
यसअघि, खोटाङको उत्तरी जाल्पा, बाक्सिला, दार्गाम्छा, एैंसेलुखर्क र हलेसीमा गत पुस शिविर आयोजना गरिएको थियो।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका जनसल्लाहाकार डा केके राईको नेतृत्वमा सञ्चालित शिविरमा संयोजक डा बुढाथोकीसहित वरिष्ठ रेडियोलोजिस्ट डा कृष्ण बुढाथोकी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा साभना प्रधान शिविरमा संलग्न थिए।
यसैगरी फेमिली फिजिसियन डा. रोहेन्द्र पाण्डे, सुमित प्रजापति, हाडजोर्नी विशेषज्ञ डा सरोज राई, डेन्टल सर्जन डा अमिता राई, डा नवराज घिमिरे, डा राजीवकुमार मन्डल, आयुर्वेद चिकित्सक डा सभ्यता पन्थी, डा सुनील भण्डारीलगायत २२ जना स्वास्थ्यकर्मीहरु संलग्न रहेका थिए।