काठमाडौं– नेपाल चिकित्सक संघले चिकित्सकको माग र संवेदनशीलतालाई बेवास्ता गरी शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीप्रति आपत्ति जनाएको छ।
संघका महासचिव डा लोचन कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले धर्नामा बसेका चिकित्सकमाथि गरेको धरपकडको विरोध गरेका हुन्। ‘शान्तिपूर्वक धर्ना दिइरहेका सरकारी चिकित्सकमाथि मन्त्रालय परिसरमै प्रहरी लगाई दमन गर्ने, धरपकड गर्ने तथा हातपात गर्दै गिरफ्तार गरिएको घटनाको भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
सरकारी चिकित्सक संघ (गोदान) ले कर्मचारी समायोजनका विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको थियो। सो क्रममा २५ जनाभन्दा बढी चिकित्सक पक्राउ परेका थिए।
गिरफ्तार गरिएका सम्पूर्ण चिकित्सकलाई बिनासर्त रिहा गर्न पनि संघले माग गरेको छ। संघले चिकित्सकको मर्यादालाई अवमूल्यन गरिएमा अझै विरोधका सशक्त कार्यक्रमहरु देशभरि नै चलाउन बाध्य हुने चेतावनी दिएको छ।