काठमाडौं- संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरवन्दी संघमा राख्दै प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार खटाउन माग गर्दै आन्दोलनरत डाक्टरहरुले आज वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म र्याली गर्ने भएका छन्।
सरकारी चिकित्सक संघ (गोदान)को अगुवाईमा र्याली हुने भएको हो। र्याली सुरु हुनुभन्दा पहिला डाक्टरहरु वीर अस्पतालमा १० बजे भेला हुने भएका छन्। वीर अस्पतालमा भेला भएपछि मात्र मन्त्रालयतर्फ र्याली अगाडि बढ्ने संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए।
संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको हो।
संघले आइतबार समायोजनका विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको थियो। सो क्रममा २५ जनाभन्दा बढी चिकित्सक पक्राउ परेका थिए।
विगतको सहमति कार्यान्वयन नभए चिकित्सकलाई उच्च तह अध्ययन, तालिम बृति विकासमा दीर्घकालिन असर पर्ने, हालको दरवन्दी तेरिज र संगठन संरचनाअनुसार भए आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा बस्नुपर्ने, माथिल्लो अस्पतालमा सरुवा र बढुवामा असर पर्ने लगायतका समस्या देखाएको छ।