जुम्ला- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रप्रसाद यादवले प्रकोप न्यूनीकरणमा जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्। नेपाल विपद्को उच्च जोखिममा रहेको भन्दै पूर्वतयारीमा लाग्न राज्यमन्त्री यादवले निर्देशन दिएका हुन्।
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठीमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीले विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताएका थिए।
स्वास्थ्य राज्यमन्त्री यादवले भने, ‘अव्यवस्थित बाटो छ। मौसमी प्रतिकूलता पनि छ। सरकारी जनशक्ति र अस्पतालका बेड अभाव छ। यस्तो अवस्थामा दक्ष जनशक्ति निर्माण गरी प्रकोप न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालय गम्भीर छ।’
मानव सूचकांकका आधारमा बजेट निर्माण गरिएकोले बजेटमा कुनै पनि भेदभाव नहुने समेत उनले बताए।
'योजना थुप्रै बनेका छन्। स्वास्थ्य क्षेत्रमा सरकारी लगानीको अपर्याप्त छ,' उनले भने, ‘बनेका योजना कार्यन्वयनमा आउन सकेका छैनन्। कार्यन्वयनमा आईसकेका योजनाले निरन्तरता पाएका छैनन्। अबको काम भनेकै योजना कार्यन्वयनमा जुट्नु हो।’
प्रदेश र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा केन्द्रीय सरकारले गाली खानु परेको अनुभव सुनाउँदै राज्यमन्त्री यादवले भने, 'स्थानीय, प्रदेश र केन्द्र सरकारले जिम्मेवारी पूरा नगरेकाले संघीय सरकारले गाली खानु परेको छ।’
विपद् न्युनीकरणको ज्ञान कार्यक्षेत्रमा गएर साथीहरुबीच आदान-प्रदान गर्न उनले सुझाव दिए। सामूहिक प्रयासले मात्रै कर्णाली लगायतका दुर्गम प्रदेशको स्वास्थ्य अवस्था सुधार्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य क्षेत्रमा समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताए। संघीय सरकारले अंगीकार गरेको 'समृद्ध नेपाल, सुखी नेपाल'को अवधारणासहित काम गरिरहेको उनको भनाइ छ।
कर्णाली प्रदेश भौगोलिक रुपमा निकै टाढा रहेको बताउँदै उनले भने, ‘अब जनमुखी विकासलाई ध्यान दिनुपर्छ। केन्द्र सरकारले अधिकार तल्ला तहमा दिने कुरामा कन्जुस्याईं गर्न हुदैन।’
कार्यशालामा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का सरकारी अस्पताल, प्रतिष्ठान र निजी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।
चार दिनसम्म सञ्चालित सो कार्यशालामा सहभागीले आगामी दिन विपद् न्यूनीकरण गर्न कार्यशालाले उर्जा थपेको बताए।
जुम्लामा भएको अस्पताल विपद पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी। तस्बिरः धनबहादुर क्षेत्री