काठमाडाैं- नेपाल फर्मास्युटिकल एसोसिएसनले राजधानीमा एक कार्यक्रमका बीच ‘ओरल रिहाइड्रेसन थेरापी’ अर्थात् सामान्य भाषामा जीवनजल विकास गर्ने अमेरिकी वैज्ञानिक तथा चिकित्सक डा डेविड आर नलिनलाई सम्मान गरेको छ|
सम्मानपछि बाेल्दै नलिनले नेपालले हाल निर्यात गर्ने भ्याक्सिन विकास गर्नसक्ने स्तरमा पुगी नसकेको दाबी गरे। यसलाई निर्यात गर्न गुणस्तरसँग सम्बन्धित मापदण्ड धेरै कडा हुने भएकोले तत्काल निर्यात हुने गरी भ्याक्सिनको विकासमा नेपालमा सम्भाव्यता कम रहेको उनकाे भनाइ थियाे। उनले नेपालमा हाल यथावत रहेकाे स्वदेशी उत्पादकहरुको स्तर क्रमिक रुपले वृद्धि गर्दै लाने र मौलिक उपचार प्रणाली र जडिबुटी/औषधिलाई पनि विकास गरी 'प्याटेन्ट'तर्फ पनि जान उपयुक्त हुनेमा जाेड दिए।
नेपाली औषधि कम्पनीहरु दक्ष र तालिमप्राप्त जनशक्ति निर्माणको लागि युनिभर्सिटी र औषधि कम्पनी दुवैले अनुसन्धानमा आधारित ज्ञान तथा सीपको विकास गराएर औषधि निर्माण गर्ने फर्मासिस्ट जनशक्तिलाई दक्ष एवम् सक्षम बनाउनु पर्ने सुझाव कार्यक्रममा व्यक्त भएका थिए।
कार्यक्रममा प्राध्यापक, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा औषधि व्यवस्था विभागका अधिकारीहरु, औषधि उत्पादकहरु आदिको उपस्थिति रहेको थियाे।
नेपाली औषधि उत्पादक कम्पनि भेगा फर्मास्युटिकल्स प्रालिका मानार्थ सल्लाहकारसमेत रहेका डा नलिन ‘ओरल रिहाइड्रेसन थेरापी’का पिताका रूपमा चिनिन्छन्|
उनले सन् १९६८ मा २६ वर्षको उमेरमा झाडापखाला तथा हैजा लाग्दा शरीरबाट कति नुन, चिनी, पानी (साल्ट, इलेक्ट्रोलाइट, वाटर) निस्किन्छ भन्ने अध्ययन गरी सोको आधारमा मौखिक रुपमा यी तत्व प्रतिस्थापन गर्ने विधि पत्ता लगाएका थिए। जसका कारण ८०% प्रतिशत सो रोगका बिरामीहरुको जीवन बचाउन सम्भव भएकाे थियाे। यसअघि सो कार्य सलाइनबाट मात्र सम्भव थियो।
उनी पोल्लिन प्राइज फर पेडियाट्रिक रिसर्च र प्रिन्स माहिडोल अवार्डले पनि सम्मानित भएका छन्|
यसबाहेक उनी भ्याक्सिन (खोप) विकास क्षेत्रका दिग्गज व्यक्तित्व पनि हुन्| उनी २१ वर्ष विश्व स्वास्थ्य संगठनको सल्लाहकार रहिसकेका छन् भने अमेरिकी कम्पनी मर्क रिसर्च ल्याबोरेटोरिजका भ्यास्क्सिन डिभिजनका प्रमुख रहेका छन्।