चितवन- भरतपुरमा रहेको चितवन मेडिकल कलेजले आफ्नो ११औँ वार्षिकोत्सव मनाएको छ। कलेजले स्थापना भएको १०वर्ष पूरा गरेको सन्दर्भमा भरतपुर-५ मा रहेको शैक्षिक भववमा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कलेजले बिरामीहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा अझै राम्रोसँग सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले आफूहरुले सञ्चालन गरेको मेडिकल कार्यक्रम मुलुकमा नै उत्कृष्ट भएको दाबी गरे। त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भएको चिकित्सातर्फका कार्यक्रममध्ये चितवन मेडिकल कलेजले विभिन्न २८ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको न्यौपोनले बताए। नर्सिङ, डेन्टल, एमबिबिएससहित स्नातकोत्तरसम्मका विभिन्न २८ वटा कार्यक्रमहरु सञ्चालन भइरहेको न्यौपानेको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पसपछि दोस्रोमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र तेस्रोमा चितवन मेडिकल कलेजले देशभरमै सबैभन्दा बढी शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेकाे छ। प्रमाणपत्र तहदेखि एमडी, एमएस गरेपछिको तीन वर्षसम्मको पढाई सञ्चालन गर्न आफूहरु सफल भएको न्यौपानेको भनाइ छ।
कार्यक्रममा चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले आफूहरुले देशका लागि उच्चस्तरको चिकित्सकहरु उत्पादन गरिरहेको बताए।
कलेजले वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गरेको विभिन्न अतिरिक्त क्रियाकलापको समेत आइतबार समापन गरिएको छ।
मेडिकल कलेजको स्थापना दिवसको अवसर आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा १७ जना महिला सहित ६६ जनाले रक्तदान गरेका थिए।