फाइल तस्बिर
लमही- सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन्। दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको ६ महिनामा साढे ७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ।
अस्पतालका फार्मेसी इन्चार्ज सुलभ अधिकारीका अनुसार चालू आर्थिक वर्षको पुससम्म ७ लाख ५६ हजार १ सय ७८ रुपैयाँ नाफा कमाउन सफल भएको छ। कर्मचारीको तलब, अन्य खर्च कटाएर उक्त नाफा गर्न सफल भएको अधिकारीको भनाइ छ।
चालू आवको ६ महिनामा बिरामीलाई ८ लाख ६६ हजार ८ सय ४० रुपैयाँ छुट प्रदान गरिएको छ। सबै सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएपछि राप्ती प्रादेशिक अस्पतालमा पनि २०७३ माघमा सञ्चालनमा आएको थियाे। अस्पतालमा फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्म करीब १४ लाख ४३ हजार ३ सय ८८ रुपैयाँ बचत भएको उनको भनाइ छ। फार्मेसी सञ्चालनमा आएदेखि अहिलेसम्म ३६ लाख रुपैयाँभन्दा बढी बराबर बिरामीलाई छुट दिइसकिएको अधिकारी बताउँछन्।
अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उनको भनाइ छ। उनका अनुसार औषधिको प्रकारअनुसार ५ देखि ५० प्रतिशतसम्म छुट दिने गरिएकाे छ। अहिले फार्मेसीमा करीब ९ सय प्रकारका औषधि उपलब्ध रहेको अधिकारीले जानकारी दिए।
निजी अस्पतालभन्दा सस्तोमा औषधि पाउन थालेपछि फार्मेर्सीको काउन्टरमा भीड लाग्ने गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताए। उनका अनुसार अस्पतालको फार्मेसीबाट दैनिक ५० हजार रुपैयाँ बराबरको औषधि बिक्री हुन्छ।
अहिले फार्मेसी सञ्चालनका लागि ४ कर्मचारी छन्। एक फार्मेसी इन्चार्ज र अन्य ३ फार्मेसी असिस्टेन्ट कार्यरत रहेकाे उनले जानकारी दिए।
नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्षसमेत रहेका अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्नेसमेत बताए। उनका अनुसार प्रत्येक स्थानीय तहमा फार्मेसी सञ्चालन भए पनि फार्मेसीको दक्ष जनशक्ति नहुँदा अनुमानको भरमा औषधि दिने गरिएको छ।
अहिले फार्मेसी सञ्चालनका लागि दुई कोठामात्रै भएकाले सेवा प्रदान गर्न समस्या हुने गरेको फार्मेसी इन्चार्ज सुलभ अधिकारीले गुनासाे गरे। औषधि स्टोरका लागि दुई कोठामा मात्रै असहज भएकाले स्टोरका लागि थप कोठा आवश्यक भएको बताए। 'अहिले चिकित्सक सुत्ने र स्टोर गर्ने कोठा एउटै छ', उनले भने। रासस