जुम्ला– प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य क्षेत्रमा स्रोतभन्दा सोचको अभाव भएको बताएका छन्। उनले नीति योजनामा अब्बल भए पनि कार्यान्वयनमा निकै पछि रहेको अनुभव सुनाए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले गरेको स्वास्थ्य आपतकालीन तथा पूर्वतयारी दृश्य अभ्यासपछि आयोजित कार्यक्रममा बोल्दै उनले अबको योजना प्रकोप व्यवस्थापनको कोणबाट सोच्न जरुरी रहेको बताए।
उनले भने, ‘हामीकहाँ स्रोतभन्दा सोचको अभाव छ। सोचले स्रोतको व्यवस्थापन गर्छ। यहाँका अधिकांश क्षेत्र जटिल पहाडी भूगोल भएकाले यहाँको अनुकुलता अनुसारको योजना बनाउने र कार्यान्वयनमा लैजाने सोच हुनुपर्छ।’
विपद् व्यवस्थापनका कुन–कुन विषयलाई समेट्न सकिन्छ भन्ने विषयमा सरोकारवाला चिन्तित बन्नुपर्ने बताउँदै मन्त्री बरालले भने, ‘अहिलेको अभ्यास विपद् व्यवस्थापनको माइन स्टोन बनोस्।’ विपद् सोधीखोजी गरेर नआउने भएकोले कुनै पनि विवादको सामना गर्न अभ्यासमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख स्वास्थ्य विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले प्रकोप साइरन बजाएर नआउने भएकोले कर्णाली, सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका अस्पतालहरुलाई सक्रियता देखाउन सुझाव दिए।
‘विपद्का समयमा सबै बिरामी आउने ठाउँ भनेकै अस्पताल हो,’ डा प्याकुरेलले भने, ‘भौतिक संरचनाका दृष्टिले निकै मिलेको हुनुपर्छ । मानवीय जनशक्ति व्यवस्थापन, लजेस्टिक र इन्फ्रास्ट्रक्चर, सूचना जानकारी र फाइनान्सियल व्यवस्थापन राम्रो हुनु जरुरी छ।’
भिड नियन्त्रण, ट्राफिक व्यवस्थापन, सूचना सेन्टर, हेल्प डेस्क बनाउनुका साथै साइरन र लजेस्टिकको अभाव हुन नदिनु नै प्रकोपको सामना गर्ने उत्तम उपाय भएको उनले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले कर्णाली प्रतिष्ठान प्रकोपका समयमा आउनसक्ने कुनै पनि विपत्तिको सामाना गर्नेगरी तयारी भइरहेको बताए।
उनले भने, ‘अबको विपत्ति कर्णाली लगायतका दुर्गम क्षेत्रमा आउने निश्चित भइसकेकोले अस्पतालमा तालिमप्राप्त जनशक्ति तयार पार्ने काम भइरहेको छ।’
कार्यक्रममा स्वास्थ्य मन्त्रालयको हेल्थ इमर्जेन्सी प्रमुख चुडामणि भण्डारीले विपद् न्यूनिकरण र पूर्वतयारीका विषयमा आफ्नो धारणा राखेका थिए।
चार दिनसम्म कर्णाली प्रदेशको सुर्खेतमा अस्पताल विपद पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठीबाट विपद् प्रतिकार्य योजना निर्माण गरेपछि बाँकेको नेपालगञ्ज मेडिकल कलेज र भेरी प्रदेश अस्पतालमा स्वास्थ्य आपतकालीन तथा पूर्वतयारी दृश्य अभ्यास गरिएको थियो।
नेपालगञ्ज मेडिकल कलेजमा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र भेरी प्रदेश अस्पतालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले निरीक्षण गरेका थिए।
अभ्यासमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका निजी क्लिनिक, सरकारी अस्पताल र प्रतिष्ठानबाट गरी झन्डै ५० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।